देश सिकाउने ठाँउ


पहेँला झुलेका धानका बालाहरु , फलफुलका बोटहरु, शान्त अनि सुन्दर बातावरण , यो परिवेश कुनै गाँउको होइन न त हो कुनै धान खेतको । गाँउ तथा खेतबाट धेरै टाढा रहेको शहरको मध्यभागमा भएको एउटा मन्टेश्वरीको जहाँ स साना बालबालीकाहरुलाई वास्तविक नेपाल देखाइन्छ ,सिकाइन्छ ।

ललितपुर जिल्ला, धोविघाटमा रहेको लावेन्डर प्रि स्कुलको दृश्य देशमैत्रि लाग्यो । यस प्रि स्कुलको एउटा कुनामा लहलह धान झुलिरहेको देख्दा म मेरो उत्साहलाई रोेक्न सकिन । मेरा मनमा अनेक प्रश्नहरु उब्जीए । मेरो कौतुहलता केही समयमै समाधान भयो, जब थाहा पाए कि त्यो धान यसै विद्यालयमा आउने स साना बाबुनानीले रोपेका रहेछन । कस्तो रमाइलो अनि व्यवहारिक कुरा । हामीले खाने चामाल कहाँ पाइन्छ भन्ने प्रश्नको उत्तर दिन उनीहरुलाई समस्या हुने छैन, र उनीहरुको जवाफ पसलमा पनि हुने छैन । साथसाथै दिनदिनै आफनै अगाढि बढ्दै गरेको तथा पानी मल जस्ता कार्यमा उनीहरु आफै संलग्न भएको हुदाँ कसरी बढिरहेको छ भन्ने कुरापनि सजिलै जानी रहेका छन । फुल बाट फल बन्ने चक्रलाई पनि उनीहरुले निहाली रहेका छन, बुझिरहेका छन कि प्रकृति निकै सुन्दर छ ।
केही पर एउटा थुम्को थियो, एउटा सानो पहाड । जहाँ पुगेर स साना बाबुनानीहरु एउटा उचाइमा आएको महसुस गर्दथे , त्यस पहाडको टुप्पोमा पुग्नु उनीहरुको लागि एउटा खेल जित्नु भन्दा कम थिएन । उनीहरु सानै देखि जिन्दगीको उकाली ओराली महसुस गर्दै थिए , जुन निकै अदभुत लाग्यो । व्यवस्थित तथा खेलौनाले भरिएका कोठाहरु जसमा खेल सँगै सिक्नको लागि उपयुक्त बातावरण थियो । प्रत्येक विद्याथीका सामानहरु छुट्टा छुटटै मिलाएर व्यवस्थित राखिएको थियो, जसले सानै देखि सरसफाई को धारणलाई विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । दशैको आभास लागिरहकोे थियो , त्यहाँ कुनै फलामे पिड नभई लिङ्गे पिङ्ग देख्दा मलाई मेरो गाँँउमा भएको महसुस गराउथ्यो ।
माटो सँग जोडिएको बाल्यकाल हराउदै गएको अवस्थामा, बालबालिकाले माटोको गन्ध महसुुुस गरिरहेका थिए, खेलिरहेका थिए । गुडिया, बल तथा अन्य खेलौनासँग सँगै उनीहरु प्रकृतिसँग पनि खेलिरहेका थिए, रमाइरहेका थिए ।


Loading comments...