केही गरेर खुशी प्राप्त गर्न चाहनुहुन्छ भने भक्तलाई सहयोग गर्नुहोस्


जीवन खै के खै के! नचाहेको जस्तो हुन्छ न सोचेको जस्तो । न खोजेको जस्तो नै हुन्छ । आफुले खोजेको र रोझेको जस्तो नहुँदा जति पीडा मानिसलाई कहिले हुन्छ र ? सवल हुँदा हुँदै पनि मानिसले चाहेको गर्न सक्दैन भने अशक्त हुँदा के होला ? सायद हामी सबैले अनुमान गर्न सक्छौँ ।

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौँ दिनको पानि
ल सुन म भन्छु मेरो राम कहानी

उनले गाएको यही गीतले भने झैँ भक्त विश्वासले आफ्नो जीवन कहानी हामीलाई सुनाए । सायद आफ्नो जीवन कहानी भनि रहँदा रुन नसकेका उनका आँखा त्यसै थामिएका पक्कै छैनन् । नेपाली सङ्गीतको क्षेत्रमा केही गर्छु भन्ने अठोट बोकेका भक्तको जीवन कहानी उनले गाएको गीत जस्तै छ एक दिनको घाम अनी सयौँ दिनको पानि ।

भक्त विश्वासको जीवन कहानी सुनेर तपाइको मन छोयो भने सबैले यो भिडियो सेयर गर्नुस है । यो भिडियो हेरेर आफुले सक्ने सहयोग गर्नु हुनेछ भन्ने आशा गरेका छौ सहयोगका लागिः
नामः भक्त कुमार विश्वकर्मा (Bhakta Kumar Bishwokarma)
खाता नंः 05-07-01-0006056
बैंकः Global IME BANK, Kirtipur

विक्रम सम्बत २०५३ साल पुष ६ गते झापा सुरुङ्गाको एक सुकुम्बासी बस्तीमा जन्मिएका उनी जन्म देखी नै शारिरिक रुपमा अशक्त छन् । उनका दुवै खुट्टा चल्दैनन् । जन्मदा खेरी नै भक्तका दुवै खुट्टा काम नलाग्ने थिए । ठुलो भएर के नै गर्ला र भन्ने सोंच आयो होला उनकी आमालाई अनि फ्याँकिदिइन् । भक्त जन्मदै फ्याकिँएका थिए । तर, उनको भाग्य त्यति कमजोर कहाँ थियो र ? उनकी माइली फुपूले फालेको ठाउँबाट उठाएर ल्याइन र पालिन् ।

घुँडाको साहारामा हिड्न थालेको पनि २२ वर्ष पुगिसकेको छ । तर मनमा आँट र साहस भने कसैको भन्दा कम छैन उनको । ६ कक्षामा पढ्दै गर्दा बुवाको मृत्यु भयो । सुनार काम गर्दै आएका उनका बुबाले कमाएको केही पैसाले नै उनको घर चल्दै आएको थियो । अब त त्यही आश पनि टुटेर गयो । उनले गर्न केही सक्थेनन् । मनमा त कती इच्छा थिए होला कति चाहाना थिए होला तर सबै माटोमा बिलिन भए । बुबा बितेको केही समयपछी आमाले अर्को विवाह गरेर गईन ।

अशक्त भक्तको जीवनमा अर्को बज्रपात आइपर्यो । उनले आफुलाई कसरी सम्हाले होला ? नियतीले जती नै उनलाई ठगे पनि अहँ उनको भरोसाको बाँध टुटेन । भाईको सहारामा उनले सङ्गीत सिक्न थाले । १० कक्ष्यामा पढ्दै गरेका उनी पढाई छोडेर सङ्गीत सिक्न थाले । सुरुमा नेपाल आइडलका प्रतियोगी सुमित पाठकका बुवा धुर्व पाठकले उनलाई सङ्गीत सिक्नका लागि भर्ना गराइदिए । करिब तिन वर्षसम्म धुर्वकै सहयोगमा उनले सङ्गीत सिक्ने मौका पाए र पछी विर्तामोडमा रहेको सरगम सङ्गीतालय भर्ना भएर करिब २ वर्ष कुशेश्वर राईसँग सङ्गीत सिके ।

सङ्गीत सिक्ने क्रममा उनीहरुको समुहले दुवै मिर्गौला फेल भएका भानुभक्त अर्यालका लागि सडकमा गीत गाएर १ लाख १२ हजार संकलन गरेका थिए । सो देखेर आफ्नो लागि पनि केही गर्नु पर्छ भन्दै सरगम सङ्गीत विद्यालयको अगुवाईमा काकड्भिटा देखी धरानसम्म सडकमा गीत गाएर उनले सरगम सङ्गीत विद्यालय कै सौजन्यमा स्कुटर प्राप्त गरे । त्यसपछि भने उनलाई आवत जावतमा केही सहज भएको छ । झापामा बसेर आफ्नो आर्थिक अवस्थामा केही सुधार नभएपछी उनी चार जना साथिहरुसंगै काठमाडौँ आएका छन् । जुन सोच बोकेर उनी काठमाडौँ आएका थिए त्यो भन्दा फरक रहेछ काठमाण्डौ भक्त भन्छन् जसले काम लगाइदिन्छु भनेर काठमाडौँ बोलायो उसैले अहिले वास्ता गर्दैन, कसैलाई कसैको मतलव नहुँदो रहेछ आफ्नो लागि आफैँ गर्नु पर्ने ।’ हुन पनि करिब ५ वर्ष भयो उनले घरको दैलो नदेखेको ।

आफैले साथिहरुको साहारामा जीवन गुजार्दै छन् । कती रात नखाएरै बितेका छन् उनका त कती रात नसुतेर नै बिताएका छन् । कहिले पुराण लगाएको ठाउँमा भजन गाएर त कहिले सडकमा गीत गएर आफ्नो जीवन गुजार्दै आएका उनले काठमाडौँको यात्रा त्यति सहज देखेका छैनन् । सङ्गीतको क्षेत्रमा केही गर्छु भन्ने उनलाई सङ्गीत प्रतिको लगाव र उनको कमजोर आर्थिक अवस्था देखेर सङ्गीतको दोश्रो वर्ष देखिको अध्ययन गर्नका लागि गुरु चण्डी काफ्लेले निःशुल्क गरिदिएका छन् । नेपाली सङ्गीतको क्षेत्रमा अहिले चर्चामा रहेका शिव परियार, प्रमोद खरेल, सहिमा श्रेष्ठ लगायतलाई समेत सङ्गीत सिकाइरहेका सङ्गीतका गुरु चण्डी काफ्लेले भक्तको त्यही लगाब देखेर नै उनलाई फुल स्कलरसिप प्रदान गरेका छन् । हाल भक्त सङ्गीत सिक्न गुरु काफ्लेकोमा धाइरहेका छन् ।

सिकेर मात्रै पनि जीवन कहाँ चल्छ र ? जीवन जिउनु पनि त पर्यो नि । जसले जागिर लगाइदिन्छु भनेर काठमाडौँ बोलायो उसले वास्ता नगरेपछि भक्त अहिले जागिरको खोजीमा भौतारीइरहेका छन् । कती दिन साथीहरुको सहारामा बस्नु ? उनि कसैको बाध्यता बन्न चाहँदैनन् । तर हरेक कुराले उनलाई साथ कहाँ दिएको छ र ? चाहेर पनि उनले धेरै चिज गर्न पाएका छैनन् । आज सम्म त आफैँ केही न केही गरेर जीवन चलाउँदै आए । कति साथीहरुले गर्दै आउनुभएको छ । तर साथीहरुमाथि बोझ पनि कहिले सम्म बन्नु र ? हो अब उनको साथि बन्ने पालो हाम्रो पनि हो । उनको चाहाना छ सङ्गीतमा केही गर्ने त्यो सपना पुरा गर्न हामीले पहल सुरु गरेका छौँ । त्यसमा तपाईँ पनि सहयोग गर्न सक्नु हुनेछ । तपाईको सानो सहयोगले भक्तको ठुलो सपना पुरा हुन सक्नेछ ।


Loading comments...