मकै पोल्ने मेरी आमा


काठमाडौँ सहरको शान्तिनगरको सानो गल्लीमा मेरो आमाको सानो संसार छ । त्यो संसारमा मेरो भाइ संगसंगै कता कता म पनि छु ।मेरी आमाको दिन बिहानीको चियाको बासनाले सुरु हुन्छ । पहिलो चियाको चियापत्ती केत्लिमा हाल्दा नहाल्दै, मेरी आमा दिनको अफिसलाई रेडी हुनु हुन्छ । जसो तसो चिया पकाइनपकाइ सक्दा मेरी आमा पनि तयार हुनुहुन्छ । चियालाई किट्ली बाट चिया छान्ने मा हाल्दा हाल्दै मेरी आमाको अवाज सुन्न आउँछ । “बाबु हरु उठ- स्कुल जाने बेला भयो ! “हामि बाबुहरु भने अटेरी , एक पल्टमा का मन्थेम र । अनि जसो जसो आमा नजिक आउनु हुन्छ तेसो तेसो चियाको बासना पनि कडा हुदै जान्छ । मेरो आँखा को पहिलो द्रिस्य आमाको चुरा हुन्छन अनि मेरो जिब्रोको पहिलो स्वाद आमाको चिया ।

मेरी आमाको अफिस, मिनभवनको गल्लीमा छ । सानो अनि चिट्टीक्क परेको गल्लीको एक कुनामा मेरी आमा तगारो मा कोइला बालेर भुङ्ग्रोले फुक्दै मकै पोल्छिन । मेरी आमाको अफिसले धेरै मान्छे हरुको अफिस जान सजिलो हुन्छ । बिहानै अफिस जाने क्रममा मेरी आमाको सानो ढुंगे अफिसमा बिसाएर मकै लिने हरुको ओहिरो लाग्छ । साँसनै फुल्ने गरि साँस तानेर जब मेरी आमा आगोमा फुक्दै दम दिन्छिन, कोइलाको धुवाँ संगसंगै, मकैको खोलको खोस्टा हरुपनि उड्दै कस्टोमारको शर्टमा लाग्न पुग्छ अनि हतार हतार सुनकै कमिज भए जत्तिकै जब सबैजाना जिउ टकटकाउछन् , मेरी आमा पुल्लुक्क हेरेर मुस्कुराउँछिन् ।

मेरी आमाको हातमा हरेकदिन नयाँ घाउ हुन्छ तर आज सम्म मेरी आमाको घाउले अ‍ेैया भनेको सुनिएको छैन । भाइलाई “क,ख,…” लेख्न सिकाउँदा आमाले कहिले दाइने हातले भाइको हात समाउनु भएन । आमाको दाइने हातमा छाला छैन। तगारोको रापले हरेकदिन आमाको हातमा खपट दिन्छ, तर मेरी आमा रोक्किनु हुन्न । जसरि मेरी आमाले घरमा र गल्लीमा दुइ थरिको जीवन जिउनु हुन्छ हो तेसैगरी मेरी आमाको दाइने र देब्रे हातले पनि दुइ थरिका काम गर्छन । मेरी आम रोबोट हो कि भनि सोच्छु कहिलेकाही अनि फेरी आमाको हातको घाउ बाट चुहिरहने रगत देखेर हैन भन्ने बुझ्छु ।

अस्ति मेरो भाइ जाडो छुट्टीमा आफ्नो साथीको घर रात बस्न गएको थियो । त्यहाँ आफ्नो साथीको आमाले बिहान अफिस जाँदा सिंगार गरेर चिट्टीक्क लुगा लगाएर हातमा चार थरि चुरा लगाएको देखेछ । भोलि पल्ट घर आएर, आमा आफ्नो ढुंगे चिहान जान ready हुदै गर्दा भाइले प्रशन गर्यो “आमा हजुर चाहिं किन अफिस जाँदा चुरा नलगाई जानु हुन्छ ? ” यति सुन्दा आमा एकछिन अक्कमक्क पर्नुभयो । मेरी आमा एकदम दरि हुनुहुन्छ सान्तिनो कुरोले आमालाई केहि असर पर्दैन तर यो सुन्दा आमाको आँखाभरी आँशु भयो । निन्याउरो स्वोरमा आमाले भाइलाई  “खै बाबु सधैं बिर्सिन्छु ” भन्नु भयो । त्यो दिन आमाले चुरा, अनि पोहोर साल दशैंमा सिलाएको नयाँ कुर्ता सुरवाल लगाएर अफिस जानुभयो । आमालाई चुरा नमनपर्ने त हैन, तर दिनभरी आगो मा खेल्नु पर्ने भकोले आमाको हात आगोले भन्दा बढी चुराले पोल्दो रहेछ । आगो हम्किदा हम्किदै कहिले काही तगारोमा हात ठोक्केर चुरा फुट्ने रहिछ अनि फेरी दुइटा मकै बेचेको पैसाले आमाले नयाँ चुरा किन्न पर्छ । आमालाई चुरा असादै मनपर्छ तर चुराले भने आमालाई खासै माया गर्दैन रहेछ ।

हाम्रो घरमा चुरा फुट्नु कुनै नयाँ कुरो हैन । हफ्तामा एक रात मेरो बा अलि ढिलो घर आउनु हुन्छ । आमा भने सधैं खाना खान बानाइ कुर्नुहुन्छ । हफ्ताको एकदिन बा घर आउंदा बा को शरिर बाट पसिना संगसंगै अरु पनि केहि गनाउँछ । मैले आमालाई धेरै पल्ट सोध्न खोजे तर आमाले “केहि हैन बाबु हिजो बाले अलि बडी बिउ रोप्नु भयो त्यहिभयेर हो ” भन्नु हुन्छ । तर मलाई भने आमाको यो कुरा पत्त्यर लाग्दैन । यो एक दिन जहिले घरमा अलि बडी हल्ला हुन्छ । थाल बज्छ, आमा रुनु हुन्छ अनि भोलि पल्ट बिहान सधैं आमाले आफ्नो फुटेको चुरा बडाल्नु हुन्छ । आमाको चुरा अफिशमा नफुटेपनि हफ्ताको एक रात घरमा फुट्छ अनि आमाको घाउ हात संगसंगै गाला र नाकमा पनि सर्छ ।

हिजो भाइको परिक्षाको result आएछ । भाइको नेपालि परिक्षाको  उत्तर कापी हेरेर आमा सुक सुक गरिरहेको देखे । मेरी आमा रोइरख्दा मलाई कोठा भित्र जान अफ्ट्यारो लाग्छ । आमा भान्सा कोठा तिर गइसकेपछि म कोठामा गएर भाइको कापी हेर्न थाले । परिक्षामा एउटा प्रस्न आएको रहेछ  “तिमि ठुलो भएपछि के बन्छौ ?”  भाइको उत्तर पढेपछि म पनि अलि भाभुक भए । भाइले उत्तर लेखेको रहेछ “मलाइ ठुलो भएर डाक्टर बन्ने रहर छ । डाक्टर बनेर म मेरी आमाको हातको घाउ ठिक गर्छु ।” त्यसैले होला मकै पोल्ने मेरी आमा, रात बिहान भाइलाई डाक्टर बनाउन खट्टिनु हुन्छ । मलाई पनि आमाको शरिरको घाउ ठिक भएको हेर्न मन छ । हिजो राति फेरी भान्सा कोठामा थाल बजिरख्दा मैले र भाइले यो पालि आमाको मुख हेर्ने दिनमा मलम किनेर दिने सल्ला गरेम । भाइले सिक्का हरु जम्मा गरेर २ रुपैया बनाएको रहेछ, अनि मेरो पनि बाले ल्याइदिएको खुत्रुकेमा अलि अलि पैसा छ । साथीले कम्पासले खुत्रुके बाट पैसा निकाल्न सिकाएको थियो, म पनि त्यहाँ बाट सक्ने पैसा झिक्छु । यो पालि मलम ल्याइदिने सल्ला गरेऊँ अर्को साल आमाको मुख हेर्दा आमालाई खोकीको दबाइ किनिदिने भनेर सल्ला गरेको छौँ ।

अंकित अर्याल

हाल अमेरिका