
बराहक्षेत्र धाम , प्राचीन हरिद्वार
२३ माघ २०७५, बुधबार ०७:००
ब्रह्मपुराण, बराहपुराण अनि स्कन्दपुराणमा समेत उल्लेख गरिएको सनातन सस्कारको बहुतै अलौकीक अनि प्राचीन थोरैमात्र धामहरुमा बराहक्षेत्र पनि पर्दछ । महाभारतमा समेत उल्लेख भएको यो पवित्र स्थल नेपालमा अवस्थित सबैभन्दा पुरानो, पवित्र र चर्चित देवस्थल मध्य एक हो ।
सुनसरीको धरानबाट करिब २५ किमी पर रहेको यस धाम महेन्दू राजमार्गको झुम्काबाट भित्र हुँदै पनि जान सकिन्छ । कोकाहा र कौसीका नदिको पवित्र संगम भएको यस धाम अलौकीक नै छ । वराह अर्थात सुंगुर, भगवान विष्णुको सुँगुरको अवतार भएको यस ठाँउको अहिलेको मन्दिरको स्वरुप भनें विसं १९९१ सालमा निर्माण गरिएको हो र यस पूर्ननिर्माण जुद्ध शम्शेरको पहलमा गरिएको तथ्य छ । १९९० को महाभूकम्पले मन्दिर ध्वस्त भएपछि जुद्ध शमशेरले १९९१ मा भा।रु। दुई लाख ५० हजारमा पुनः निर्माण गरेको कुरा पर्खालमा रहेको शिलालेखबाट प्रस्टिन्छ। चुनसुर्की द्वारा सिङ्ग शैलीमा निर्मित २२ फुट अग्लो गुम्बजाकार बराहको मन्दिरमा १९९० भन्दा पहिला झिँगटीको छानो थियो भने मन्दिर ढुङ्गै ढुङ्गा द्वारा बनाइएको प्यागोडा शैलीको थियो। ९० सालको भुकम्पले क्षतीग्रस्त पुरानो संरचनालाई नयाँ स्वरुपमा निर्माण गरिएको यस धाममा बिराटनगर, धरान लगायतका ठाँउबाट सहजै पुग्न सकिन्छ ।
पुरातत्वविद्हरुका अनुसार यो कालो मुर्ति ५ हजार बर्ष भन्दा बढि पुरानो हो भने अन्य मन्दिरहरुमा रहेका मुर्तिहरु नवौं शताब्दिका हुन् । यहाँका मूर्तिहरुको वर्णन पौराणिक ग्रन्थहरुमा समेत पाईन्छ। यसैगरी बुध गुप्तले पनि यस मन्दिरको जीर्णोद्धार गरेका र भीमसेन थापाले कोशीसम्म जाने १५८ वटा सिंढी बनाएको उल्लेख पनि इतिहासमा पाइन्छ। यसमा ढुङ्गा छाप्ने काम भने धनकुटाका बडाहाकिमले गरेका कुरा इतिहासकार नरपति शर्माले लेखेका छन् । यहा पृथ्वीनारायण शाहले गहना र वीरशमशेरले वि. सं. १९४९ मा चढाएका घण्टा पनि छन् । बराहक्षेत्रमा कार्तिकको हरिबोधनी एकादशीदेखि पुर्णिमा सम्म लाग्ने मेला निक्कै रमाईलो हुन्छ। यो मेलाले त बराहक्षेत्रलाई धार्मिक पर्यटनको नमुना कै रुपमा प्रस्तुतपगरेको छ । बराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन्। त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन्।
इतिहास हेर्दा छैटौं किरात राजा जिते दास्तीको पालामा कार्तिक र माघमा मेला लाग्ने गरेको थाहा हुन्छ। त्यसबेला पुजाका लागि भनेर गुठीको समेत व्यवस्था गरिएको थियो। मुकुन्द सेनका छोराहरुले पनि यस मन्दिरको नाममा बारा जिल्लामा गुठी राखेको सेनवंशावलीमा उल्लेख छ। सप्तकोशी र कोकाहा नदिको संगमको ३ सय फिट अग्लो भागमा अवश्थित बराहक्षेत्र मन्दिर भित्र रहेको मुर्ति निक्कै पुरानो मानिन्छ। केहि बर्ष यता नेपाल बाहिरका पर्यटकहरु घटेका भएपनि यसपटक शूरु मै उनिहरुको उपस्थिती राम्रो देखिएको हामीलाई हाम्रा सुनसरी प्रतिनिधि सौरभ ढकाल बताँउदछन् । यो मेलामा नेपालका विभिन्न जिल्लाबाट मात्र होईन भारत र बंगलादेश देखिका भक्तहरु दर्शनका खातिर बराहक्षेत्र पुग्छन्। वराहक्षेत्र गाविस वार्ड नं. १ चतरा स्थित औलिया बाबाको मन्दिर पनि उत्तिकै परिचित छ। औलियाबाबाको मन्दिरमा साउन महिनाभर भव्य मेला नै लाग्छ। लाखौ भक्तजन औलियाको दर्शन गरेर धरान स्थित पिण्डेश्वर तर्फ बोलबम जाने गर्छन्। त्यस बाहेकपनि यो क्षेत्रलाई अहिले विभिन्न धार्मिक ग्रन्थहरुका उल्लेखित प्रमाणका आधारमा प्राचिन हरिद्वार भएको घोषणा गरि केहि वर्षदेखि कुम्भ उत्सव समेत मनाउने कार्य भईरहेको छ। हाल चतरामा आयुर्वेद पाठशालाको अवधारणा अनुसार काम भईरहेको छ। यस क्षेत्रमा आदि वराह छिन्नमस्ता भवानी थान सुर्यकुण्ड लगायतका धार्मिक स्थल छन्। चतरामा केहि वर्ष अगाडि पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेको कुम्भ स्तम्भपनि पर्यटकका लागि आकर्षक बनेको छ । धार्मिक बाहेक यो क्षेत्र ऐतिहासिक र पर्यावरणिय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ। चतराधामको धार्मिक विकास र कुम्भ महोत्सवको आयोजनमा वालसन्त मोहनशरण देवाचार्यको भूमिका निकै महत्वका साथ लिइन्छ । चतरादेखि माथिल्लो जंगल क्षेत्रमा पर्ने “अमृतगाछी” इतिहासका विद्यार्थीदेखि अध्ययन गर्न चाहनेकालागि महत्वपुर्ण छ। सो क्षेत्रमा नवपाषाणकालिन ढुङ्गे बन्चरो राजेन्द्रविक्रम पृथ्वी विक्रम लगायतका राजाका पालको तामाका पैसा डोलि पैसा र ढुङ्गामा कुँदिएका विभिन्न आकृतिहरु भेटिएका छन् भने जंगलभरी ईटा छापिएका ठाउँ ढुङ्गाका पर्खाल किट र ढुङ्गाका ओखल भेटिएको हुँदा कुनै समयको ठुलो वस्ती भएको प्रमाणित हुन्छ। बराहक्षेत्र धार्मिक मात्र नभएर पर्यटकीय क्षेत्र पनि हो। यहाँबाट देखिने सप्तकोशीको मनमोहक छटा र चारैतिरका डाँडाकाँडाको आनन्दित दृश्यले जो कोहीको पनि लोभ्याउँछ ।
अरु धार्मिक क्षेत्र जस्तै यसमा पनि प्रचारप्रसार र विकासका पूर्वाधार पुर्याउने हो भने यो पनि अरु भन्दा कम हुँदैन। जिविसले मेलाको बेलामा मात्र बाटो मर्मत गर्ने र धार्मिक पर्यटकिय स्थल हो भनेर उपस्थिती जनाउने गरेको छ नत्र अन्य समयमा कुनै ध्यान दिएको पाईदैन भनी स्थानीयहरुको गुनासो छ । अहिले चतरावाट गाइघाट हुँदै कटारी अनि घुर्मीसम्म आउने बाटो बनेपछि त चतराधामको चहलपहल अझ विशेष देखिन्छ । भारत भुटान बंगलादेश देखिका धार्मिक पर्यटक आउने भएकाले यो राम्रो धार्मिक पर्यटन स्थल होसलाई त देशले नै ध्यान दिएर राम्रो
पर्यटन स्थलका रुपमा विकास गर्न सक्छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले