शिव को हुन् ?


के शिव भगवान हुन् ? हुन भने कस्ता भगवान हुन् ?
शिव को हुन् भन्ने बुझ्नका लागि बहुतै गहिरो आत्मसाथ चाहिन्छ, आउनुहोस् आज शिव अर्थको गहिराईमा डुबुल्की मारौं ।पूर्वीय सभ्यताको अध्यात्मिक अग्रताका केन्द्रबिन्दु शिवका बारेमा धेरै कथा, कहानी, उदहारण अनि कथनहरु छन् ।

शिव शब्दको शाब्दिक अर्थ केही पनि नभएको शुन्यता भन्ने हुन्छ । केही पनि नभएको शुन्यता, शुन्यता नै शुरुवात पनि त हो । आखिर अहिलेको क्वान्टम फिजीक्सले पनि त हरेक कुराको शुरुवात र अन्त शुन्यता नै त भनेको छ । यस ब्रह्माण्डको शुरुवात र अन्त पनि त शुन्यता नै हो, यहाँ शुन्यता नै शुरुवात अनि समापन दुबै हो भनेर आधुनिक बिज्ञानले पनि त भनेको छ । यस ब्रह्माण्ड एउटा बिशालकाय शुन्यता र महाघटना अनि त्यसको परिघटनाका रुपमा घटिरहेको छ । बाँकी त केवल शुन्यता मात्र त हो, त्यस शुन्यता नै शिव हुन् । शिव एउटा शक्ति हो, उर्जा हो जसले शुन्यतालाई सम्बोधन गरेको छ । शुन्यता बाटै उत्पन्न यस ब्रह्माण्डका हरेक कुराको गर्भ शुन्यता नै हो अनि अन्त पनि, यस अर्थमा शिव नै आदि अनि अन्त हुन् । सम्पूर्ण कुरा शिव बाटै आएर शिव मै सकिने हो ।

शिव एउटा शुन्य शक्ति हो, जून नभएर पनि सर्वबिधमान छ । तारापुञ्जहरुका सम्पूर्ण हाईड्रोजन हिलियममा परिवर्तन भएपछि श्रृजना हुने ब्ल्याक होल देखि सूर्यको तेज अनि सूर्य जस्ता करोडौं अन्य ग्रहको ताप मा शिव बिधमान छन् । शिवलाई प्रकाश भन्दा पनि अन्धकार संग जोडिन्छ, शुन्यताको पर्याय अन्धकार जुन आँफैमा अनेकन प्रकाशहरुको श्रोत हो । प्रकाश चाहे हामीले बालेको बत्ति को होस् या सूर्य नारायण स्वयमकै किन नहोस् ? प्रकाश आयूले बाँधिएको हुन्छ, हिलियममा परिणत भएका हाइड्रोजनले अन्धकारलाई आत्मसाथ गर्दछन्, अन्धकार अबिछिन्न अनि अन्तहिन छ र त्यही अन्धकार नै ब्रह्माण्डको गर्भ हो, शिव हो । अन्धकार बिशिष्ट संभावना हो, अन्धकारका लागि केही जलिरहनु पर्दैन र यो निरन्तर सरिताका रुपमा बगिनैरहन्छ ।

यहाँ धेरै अन्धकारको कुरा गर्दा शिव शक्तिलाई अन्धकारसंग तुलना गर्दै दानवीय शक्तिको उपज जस्तो पनि देखिन्छ तथापि प्रकाश भन्दा अन्धकारमा दैवीय शक्ति र उर्जा धेरै हुन्छ । बिज्ञानले अहिले आएर परमाणु अनि अणुसंग पौठेजोरी खेल्दै बल्ल ब्रह्माण्डको उदगम लाई नथिगंनेश भन्दैगर्दा हामी पूर्विय दर्शनका अनुयायिहरुले त हजारौं बर्ष अघि बाट नै शिवबाट नथिगंनेश बुझेका र आत्मसाथ गर्दै आएका छौं ।

यो त भयो शिव शब्दको अर्थको व्याख्या अनि बिज्ञानको समन्वय र तर शिवको अर्को व्याख्या हुन्छ एउटा योगीका रुपमा ।
आदियोगी शिव, योग बिज्ञानका प्रथम गुरु शिव हुन् । जिवनलाई यसको उत्कट संभावना सम्म जोगाईरहन अनि जिवनपथलाई सहज, सरल अनि अर्थपूर्ण मार्गमा लान जिवनको अवयव र श्रृजनाका यथार्थ समागम गरिएको योगबिज्ञानका प्रवर्तक शिव आदियोगी हुन् । शिव योगीका रुपमा त्यतीबेला देखि छन् जब कुनै धर्म थिएन अनि तबसम्म रहन्छन् जबसम्म शुन्यताको गहिराईमा यस श्रृजना डुब्नेछ अनि अन्तहिन अन्तमा डुबुल्कि मार्नेछ ।

योगी अर्थात योग अर्थात जोड या संगम । एक यस्ता योगी जसले यी सगंमहरु अनुभव गरेका छन् । दुर्भाग्यबश आजभोली शिव केवल चित्र अनि क्यालेण्डरका कला मात्र बनेका छन् । हामीले उनका स्वरुपको चर्चा र अर्थ पत्ता लगाउन नसकेर केवल चित्रमा आफ्नो समझ सिमीत गरेका छौं । निलो रंगका, सर्पका माला लगाएका अनि जटा भएका एक साधु हाम्रा लागि शिव भएका छन्, किनभने क्यालेण्डर बनाउने मान्छेसंग केवल त्यो मात्र एउटा मानसचित्र छ सर्वव्यापी शिवको ।

उसले कृष्ण बनाउनु परेमा हातमा मुरली राखेर बनाँउछ, राम बनाउनु परे हातमा धनुवाण कोर्दछ अनि शिव बनाउनु परेमा चन्द्रमा र जटामा गंगा खोलाको बहाव हालिदिन्छ । दुर्भाग्य यहि त छ, हाम्रो यि शक्तिहरुसंगको साक्षात्कार अपूर्ण छ । साधु संस्कारमा शिवलाई भगवानका रुपमा लिइन्न, शिव अनन्त साधु हुन जो हिमालय क्षेत्रमा बस्दछन् । मानविय चेतनामा शिवशक्तिको योगदान अत्यन्त बृहद छ । योग भनेकै पनि त ध्यान तानेर शुन्यतामा बस्नु या जानु हो । चेतना शुन्यतामा छ, पशुपति शिवको चेतना अभ्यासले पनि आफैभित्र हेर्न सिकाएको छ । शिवलाई बुझ्न एउटा जिवन काफी छैन् तर शिवको एक झल्को बुझाईले मात्र पनि हजारौं जूनी सफल हुन्छ ।
हर हर महादेव,
बम बम भोले,

प्रस्तुत लेख ईशा फाउण्डेशनको वेबसाइट, सदगुरुका बचन अनि बिभिन्न अध्ययनका आधारमा सुयोग ढकालले तयार गर्नुभएको हो ।

 


Loading comments...