चलचित्र बुलबुलको रिभ्यु


चलचित्र समीक्षा बुलबुल रेटिंग : ४ /५

उत्कृष्ट पक्षहरु

चलचित्रका सबै पक्षहरु उत्कृष्ट छन्, एउटा दुइटा उल्लेख मात्र गर्दा पनि अरु सबै उत्कृष्ट पक्षहरुलाई जायज हुदैन।

कमजोर पक्ष

आम नेपाली दर्शकको ठुलो जमातलाई चलचित्रले प्रभाव पार्न सक्दैन। तर यसलाई कमजोर पक्ष भनिहाल्न हुनेथ्यो कि थिएन, अन्योल छ।

समीक्षा

“रणकला”अर्थात स्वस्तिमा खड्का नेपाली समाजमा बस्ने यस्ता थुप्रै युवतीहरुको प्रतिनिधि पात्र हुन् जसका श्रीमान बैदेशिक रोजगारीमा छन् र बर्षौ देखि फर्किएका छैनन। “रणकला”ले सबै नारीहरुमा हुने प्रेम र स्नेहको चाहाना व्यक्त गर्छिन्। लेखक निर्देशक बिनोद पौडेलको यो पात्र एउटा टेम्पो चालक हुन् र नेपाली नारीको मनोभावनाको प्रतिनिधि गर्छिन् । विदेश गएका श्रीमान ६ बर्ष सम्म नफर्किदा र अझै फर्किने टुङ्गो नहुदा “रणकला”को आत्मसंघर्ष नै चलचित्र “बुलबुल”को कथा हो। थुप्रै दर्शकलाई चलचित्र हेरेको निक्कै बेर पछि पनि आखिर चलचित्रको कथा के हो भनेर अन्योल हुनसक्छ किनकी “बुलबुल “को पटकथा प्राय अरु चलचित्र जस्तो कथा केन्द्रित हैन केवल एउटा पात्रको भावना केन्द्रित छ।

“बुलबुल” एउटा उत्कृष्ट लेखनको उदाहरण हो। निर्देशक पौडेलको पटकथा इन्गेजिंग छ, सिम्बोलिक छ र चलचित्र हेर्दै गर्दा कतिखेर तपाइँ प्रभावित हुनुभयो, तपाइहरुले पत्तो पाउनुहुन्न। रणकलाको जीवनको समस्याहरु निर्देशक पौडेलले पुस्तकको “च्याप्टरहरु” जसरी प्रस्तुत गरेका छन्। अन्तिम दृश्यले निक्कै मन छुन्छ। संवादहरु सान्दर्भिक छन्, अव्वल छन् , विशेषगरी चोपेन्द्रको संवादहरु एक सय एक छन्। लेखन जतिनै सबल छ बिनोद पौडेलको निर्देशन। दर्शकलाई मन्त्रमुग्ध बनाउछ यो चलचित्रले। रणकलाको श्रीमानको पात्रको लागी उनले बुद्धि तामाङ्ग जस्तो स्थापित कलाकार चयन गर्नुले उनको चलाख सोच बुझाउछ। दर्शकले बुद्धिलाई देखेर आफ्नै अड्कल काट्छन् र त्यो पक्का मिल्दैन। प्राविधिक पक्ष निक्कै मजबुत छ। ब्याकग्राउण्ड स्कोर , छायांकन , सम्पादन सबै अव्वल छन। “खुद्रा खाद्री माया” सुन्न मजा आउछ। अब कुरा गरौ प्रस्तुतिको , नेपालमा आयोजना हुनेजति सबै अवार्ड शोले २०७५को उत्कृष्ट नायिकाको अवार्ड तल स्वस्तिमाको नाम प्रिन्ट गरिराख्दा केहि फरक नपर्ला। यो “रणकला”को बर्ष हो, यो स्वस्तिमाको बर्ष हो। चोपेन्द्र भुषाललाई दर्शकले लामो समय सम्म भुल्ने छैनन्। चोपेन्द्र बनेका मुकुनले मन जित्ने पक्का हो।

हामि नेपाली दर्शकहरुलाई बुलबुल जस्तो चलचित्र हेर्ने खासै बानि छैन। यस किसिमको कला मुश्किलले बर्षमा एक अथवा दुइ मात्र देख्न सकिन्छ। यो कमर्सियल सिनेमा रुचाउने दर्शकको लागि पटक्कै हैन, तर पनि ति दर्शकले चोपेन्द्रको पात्र बाट भने मनोरंजन अवश्य लिनेछन। यदि तपाइँ एउटा गुणस्तरीय सिनेमा हेर्न चाहानुहुन्छ भने “बुलबुल” अवश्य हेर्नुहोला।

-फिल्मी फुच्चे बाट साभार

 

 

 


Loading comments...