Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार
nirmal mani

परम्परा र परिवर्तनको दोसाँधमा महाशिवरात्री

२० फाल्गुन २०७५, सोमबार १५:२३

महाशिवरात्री पर्वको हिजो मनाइने स्वरुप र आज मनाइने स्वरुपमा थुप्रै फरकपन आएको छ । परम्परागत स्वरुपमा महाशिवरात्री पर्व ‘सत्यम् शिवम् सुन्दरम्’को श्रेष्ठ जीवन–दर्शनले अनुप्राणित मानव समाजको सात्विक अनुष्ठानको पर्व थियो । ‘शिव–तत्व’को साक्षात्कारको आधिभौतिक, आधिदैविक, आध्यात्मिक अर्थ आत्मसात् गर्नेहरुका निम्ति त यो पर्व अनुपम नै छ । यसलाई भक्तिवश एवं सांस्कृतिक परम्परा निर्वाहहेतु पनि धार्मिक साथसाथै सांस्कृतिक तवरमासमेत मनाउन थालियो । तर कालान्तरमा मानव समाज यसको दार्शनिक पक्षको ज्ञानबाट शनैशनै टाढिँदै जाँदा परिवर्तनको संघारमा जनमानस दिग्भ्रमित हुने स्थिति आएको पनि देखिन्छ । अहिले शिवरात्रीका दिनमा पशुपति क्षेत्रमा यस दिनमा भेटिइने व्यक्तिहरुमा शुद्ध आध्यात्मिक तहका व्यक्ति कति भेटिएलान् ? आध्यात्मिक भावनाबाट आएकाहरु/ भक्तिले पशुपति क्षेत्रतर्फ डोरिएकाहरुलाई भीडमा रमितेहरु, पाखण्डी/ढोँगीहरुको संख्याले किच्ने बेला आएको स्थिति कम चिन्तायोग्य हो र ? शिवरात्री मनाउने भीडमा दुव्र्यसनी र कुत्सित मनसाय भएकाहरु झन् झन् बढ्दै जानु, अनि महाशिवरात्रीजस्तो ‘सत्यम् शिवम् सुन्दरम्’को महान् पर्व दुव्र्यसनीहरुको ‘फेस्टिवल’ बन्नु विडम्बना नै हो ।

समयक्रममा कतिपय चाड–पर्वहरुका स्वरुपमा परिवर्तन आएको तथा कतिपयचाहिँ बिर्सिइएका पनि उदाहरण हामीसँग छन् । तथापि, समग्रमा हिन्दूधर्मशास्त्रका विधान अनुरुपका विविध चाड, पर्व, उत्सव आदि नेपाली समाजका विशिष्टताका रुपमा रहिरहेकै छन् र तिनले नेपालीहरुका सांस्कृतिक जीवनमा खास किसिमको स्थान ग्रहण गरेका छन् । महाशिवरात्री पनि नेपाली सामाजिक सांस्कृतिक जीवनमा विशिष्ट स्थान रहेको पर्व हो । नेपाली समाजको अध्ययन गर्दा यहाँ प्रचलित सामाजिक संस्कार सनातन धर्मानुप्रणित देखिन्छन् । नेपालीहरुको सामाजिक विश्वास, रितिथिति देखिलिएर उच्च दार्शनिकता सम्म जहाँतहिँ वैदिक धर्मशास्त्र, श्रुति–स्मृति आदिको प्रत्यक्ष प्रभाव छ । यतिमात्रै होइन, हाम्रो चित्रकला, मूर्तिकला, वास्तुकला, संगीत देखिलिएर मुद्रासम्म सबैथरीमा ऐतिहासिक कालदेखिनै धर्मको प्रभाव परेको छ । हाम्रा नाट्य, काव्य आदिका सांस्कृतिक कोणबाट अध्ययन गर्दाखेरीमा पनि तिनमा सनातन हिन्दू धर्म–चेतना स्पष्ट छ । सामाजिक एवं सांस्कृतिक इतिहास जस्तै राजनीतिक इतिहासले पनि नेपाल नेपालीभूमि परम्परागत रुपमा सनातन हिन्दूधर्मको मूलभूमि हो । यस कारणले पनि हिन्दूधार्मिक चाड–पर्वहरुको यहाँ विशेष महत्व हुनु स्वाभाविक हो र नेपालीहरुको महाशिवरात्रीसँगको साइनो खुट्ट्याउनका निम्ति नेपाली संस्कृतिको जगमा सनातन हिन्दूधर्म एवम् वैदिक संस्कृतिको आधारशीला रहनु आफैंमा जाज्वल्यमान आधार हुँदै हो । यस अतिरिक्त उक्त साइनोको प्रगाढता अभिवृद्धिमा हाम्रा विशिष्ट परिस्थितिहरु पनि कारकतत्वका रुपमा रहेका छन् ।

जस्तोकि, नेपालको पहिलो राजवंश ‘गोपाल’ हो र यस राजवंशको प्रतिस्थापनासँग पशुपतिनाथ ज्योतिर्लिङ्ग प्रकटीकरणको इतिहास पनि समेटिएको छ । किराँतकालको कुरा गर्दा, तत्कालीन सभ्यताको अवशेषका रुपमा प्राप्त केही मूर्ति तथा कलावस्तुहरुको आधारमा किराँतकालीन नेपाल शैव मतानुयायी रहेको प्रमाणित हुन्छ । शैव मतानुयायी समाजमा महाशिवरात्रीको स्थान, महत्ता एवं गरिमा हामी सहजै अड्कल गर्न सक्छौं । लिच्छवीकालदेखिको नेपालको इतिहासलाई प्रामाणिक मानिएको छ र त्यो बेलाको सांस्कृतिक स्वरुपबारेमा आधिकारिक तवरले भन्न सक्ने स्थितिमा हामी छौं, जसअनुसार तत्कालीन नेपाली समाज सनातन वैदिक धर्मावलम्बी रहेको र शैव सम्प्रदाय जनस्तरमा गहिरोसँग व्याप्त रहेको थियो । तसर्थ महाशिवरात्रीजस्ता पर्व त्यतिबेला प्रमुख पर्व थिए नभन्नुपर्ने कुनै कारण छैन ।

मध्यकालीन नेपालको इतिहास त झन् छर्लङ्ग नै छ । प्राप्त सयौं अभिलेखहरुले प्राचीन नेपालको राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि अवस्था बारेमा जान्न मद्दत गर्दछन् । श्री५ पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा अघि अस्तित्वमा रहेका भुरे–टाकुरे राज्यका शासक एवं जनता हिन्दू–सांस्कृतिक चेतनासूत्रमा आबद्ध थिए । इतिहासको त्यो कालखण्डमा जब धर्मशास्त्रनै शासनको एकमात्र विधान थियो, तब समाजमा धार्मिक कृत्यको सर्वप्रमुख स्थान थियो भन्ने तथ्य घामझैं छर्लङ्ग छ । यसरी प्रागैतिहासिक कालमाझैं ऐतिहासिक कालमापनि महाशिवरात्री नेपालीहरुको महानतम् सांस्कृतिक पर्व थियो भन्ने कुरा ठोकुवासाथ भन्न सकिन्छ ।

अहिले वैदिक सनातन हिन्दू धर्म संस्कृतिप्रति चौतर्फी प्रहार भइरहेको तथा नेपाली संस्कृति अभूतपूर्व सङ्कटमा छ भनेर प्रचार भइरहेको परिस्थितिमा समेत महाशिवरात्रीको दिनमा नेपालका लाखौं घरहरुमा रुद्री लगाइन्छ, हजारौं मन्दिरहरुमा रुद्राभिषेक हुन्छ, लाखौं भक्तजनहरु बेलपत्र चढाउनकानिम्ति निराहार बस्छन् । यति हुँदाहुँदैपनि सोचनीय कुरा के छभने पशुपतिक्षेत्रजस्ता स्थानमा महाशिवरात्रीको रौनकमा अझै कमी नआएतापनि समग्र देशको स्थिति बिचार्दा हालैका केही वर्ष यता विविध कारणहरुले महाशिवरात्री पर्वको सर्वसाधारण जनस्तरमा अक्षुण्णतामा आँच आउन थालेको स्थिति छ । हाम्रो महाशिवरात्री पर्व धर्मको हिसाबबाट सुदृढ रहँदा रहँदैपनि सांस्कृतिक हिसाबबाटचाहिँ क्षयीकरणतर्फ उन्मुख भइराखेको तथ्यलाई बेवास्ता गर्नु बुद्धिमानी हुँदैन । वास्तवमा यतिखेर नेपाली समाजमा परम्परागत रुपमा चल्दै आएको महाशिवरात्री पर्व परम्परा र परिवर्तनको दोसाँधमा रहेको छ । एकातिर यसको सुदीर्घ परम्पराले नेपाली जनमानसलाई यस पर्वसँग आबद्ध गराइ राखेको छभने अर्कोतिर समकालीन परिवेश, परिप्रेक्ष्य एवं परिस्थितिको अनुकूल हुने लहरमा लहरिएकाहरु यसबाट टाढिँदै पनि छन् ।

शिवरात्रीजस्ता पर्वको सांस्कृतिक हिसाबबाट क्षयीकरणमा कारकतत्वहरु विविध छन् । हाम्रा सन्दर्भमा एकातिर माकर््सीय कम्युनिज्मको नाममा र अर्कातिर पूँजीवादी विश्वव्यापीकरणको आडमा यस्ता मौलिक पर्वहरुमाथि आघात पु¥याइएको देखिन्छ । पूँजीवादी उपभोक्तावादलाई आफ्नो व्यापार बजार विस्तार गर्नकानिम्ति ‘विश्व बजार’को आवश्यकता परेकोहुँदा उसले ‘खुलाबजार’ तथा ‘उदारीकरण’को नारा दिएर आफ्नो व्यापार–साम्राज्य विस्तार गर्दैजाँदा ‘विश्वग्राम’को मीठो सपना पनि बाँड्नेनै भयो । पूँजीवादी उपभोक्तावादको दिग्विजयका क्रममा अन्तप्र्रान्तिय, अन्तर्देशीय तथा अन्तर्महाद्वीपिय स्तरमा विभिन्न जाति, सम्प्रदाय वा सामाजिक एकाइहरुको आपसी सम्पर्क एवं अन्तक्र्रियाले तीव्रतर गति लिएको देखिन्छ । जसका कारण एकथरीले अर्काथरीबाट केही सिक्ने, अपनाउने प्रक्रिया पनि चलेको छ । यस्तो संक्रमण कालमा कतिपय जाति, समुदाय वा सामाजिक एकाइहरुले आफ्नो मौलिकता गुमाउने वा तिन्का मौलिक परम्परागत कुराहरुका अस्तित्व समेतमा सङ्कट पर्ने सम्भावना पनि उत्तिकै रहन्छ । महाशिवरात्री लगायतका विविध नेपाली सांस्कृतिक चाड–पर्वहरुबाट कतिपय नेपालीहरु किन टाढिएका हुन् भन्ने सवालको जवाफ यहीँनेर रहेको छ । पूँजीवादी उपभोक्तावादलाई आफ्नो व्यापारिक स्वार्थसँग मतलब हुन्छ र त्यसैकारणले हरेक अवसरलाई व्यापारिकरण गरिदिन्छन् । पूँजीवादीहरुकालागि नेपालका मौलिक परम्परागत चाड–पर्व भन्दापनि आयातित चाड–पर्व बढी प्यारा हुनुको कारण यही होकि खासगरी पश्चिमा पाराका सांस्कृतिक चाड–पर्वहरुमा व्यापार गर्न सकिने मौका बढी हुन्छ । जस्तोकि— ‘भ्यालेन्टाइनडे’ होस् या ‘बर्थडे’ होस् वा ‘क्रिसमस’ होस्, आकर्षक ‘ग्रिटिङकार्ड’देखिलिएर अनेकन् ‘गिफ्ट’का बिक्रीले व्यापारिक मौका जति मिल्दछ, त्यति मौका नेपाली समाजका परम्परागत चाड–पर्वहरुमा नदेखेपछि पूँजीवादी व्यावसायिकताले आफ्नो स्वार्थ अनुरुपनै नेपाली समाजका परम्परागत चाड–पर्वका बदलामा आगन्तुक चाड–पर्वको पक्षपोषण गर्दछ— चाहे त्यो प्रत्यक्ष होस् वा परोक्ष । जसका कारण महाशिवरात्रीजस्ता पर्वहरुलाई नेपथ्यमा धकेल्न खोजिने सम्भावना हुन्छ । तर यसको अर्को पाटो पनि छ । एकातिर स्वयम् नेपालीहरुमा शिवरात्रीको असर घट्दै गरेको होकि त भनेजस्तो भइराख्या बेलामा पशुपति क्षेत्रमा छिमेकी राष्ट्र भारतका अलावा श्रीलङ्का, बङ्गलादेश, इण्डोनेशिया देखिलिएर युरोप–अमेरिका तथा अफ्रिकासम्मबाट पनि भक्तजनहरु आउन चाहने क्रममा बढोत्तरी भएको छ । योचाहिँ पूँजीवादी व्यावसायिकताले प्रदान गरेको सकारात्मक पक्ष हो । ‘धार्मिक पर्यटन’को अवधारणा यसकै आडमा जन्मेको हो । यद्यपि यसबाट गुणात्मक तवरमा सांस्कृतिक आधारलाई पनि मजबुत पार्ने कुनै निश्चितता (ग्यारेन्टी) हुँदैन ।

माकर््सीय कम्युनिज्मको नाममा कसरी शिवरात्रीजस्ता पर्वहरुमाथि आघात पु¥याइएको छ भन्ने तथ्य बुझ्नकालागि ‘माओवादी’का नाममा विगत केही वर्ष देखिनै मच्चाइएका हिन्दूधर्म विरोधी वितण्डाहरुलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरुले हिन्दूधार्मिक–सांस्कृतिक चाड, पर्व, उत्सव विरुद्धमा पटक–पटक आक्रमण गरेका छन् र त्यस क्रममा कतिपय स्थानमा शिवमन्दिरमाथि आक्रमण समेत गरेका छन् । आज यस्ता नेपाली जनताको संख्या लाखौं छ, जसले इच्छा हुँदाहुँदैपनि शिवरात्रीका अवसरमा शिवाराधन गर्नबाट वञ्चित हुनुपरेको छ । शिवरात्री पर्व मनाउने नेपाली परम्परालाई यसरी राजनीतिक मुकुण्डो लगाएर आघात पारिएकाले पनि यस पर्वको रौनकमाथि नकारात्मक असर परेको छ ।

परम्परा र परिवर्तनको यस दोसाँधमा हामी भित्रकै कमजोरी तथा विकृति/विसंगति पनि महाशिवरात्रीको परम्परा क्षयीकरणमा जिम्मेवार छन् । आम जनसमुदायलाई यसको सांस्कृतिक महत्वका साथसाथै हाम्रानिम्ति यसको अनिवार्यता बोध गराउन नसक्नु र यसलाई अपठित वा अल्पपठित पुरेतहरुको कमाई खाने दिनका रुपमा परिणत हुन दिनु, अनि नयाँ पुस्तालाई विचारधारात्मक तवरले प्रशिक्षित गर्न नसक्नु जस्ता थुप्रै कारणहरु स्पष्टै देख्न सकिन्छ । विश्वको जुनसुकै संस्कृतिको इतिहासले पनि यही शिक्षा प्रदान गर्दछकि जब–जब जनसमुदाय विचारधारात्मक तवरमा अचेत बन्छ, तब सांस्कृतिक विनाश अवश्यम्भावी हुन्छ । जस्तोकि, गाँजा–चरेश खानकै निमित्त शिवरात्री मनाउनेहरु पनि यहाँ नभएका होइनन् । अनि कतिपय व्यक्तिहरु फगत् ‘मोडर्न’ हुने फेसनमा महाशिवरात्रीजस्ता मौलिक परम्परागत पर्वहरुसँग टाढिएका छन् नि ! ती दुबैखाले व्यक्तिहरुलाई देख्दा टीठ मान्नमात्र सकिन्छ । ‘महाशिवरात्री’लाई नबुझेकाहरुलेमात्र त्यस खालका व्यवहार गर्दछन् ।

नयाँ पुस्तालाई आफ्ना सांस्कृतिक एवं परम्परागत श्रृङ्खलासँग आबद्ध गर्न नसक्नु सामाजिक रुपमा त्रासद् असफलता हो जसले समाजलाई परम्परा र परिवर्तनको दोसाँधबाट खँगारेर विडम्बनापूर्ण परिस्थितिमा पु¥याउँछ । स्पष्ट छ,— नेपाली समाजको भविष्य परिवर्तनको लहडमा जथाभाबी पत्करझैं बतासिनुमा छैन र आफ्नो मूलसँग अविच्छिन्न रहनै पर्छ हामीले । परिवर्तनको लहरमा लहरिँदै गर्दा केपनि ख्याल राख्नैपर्छभने हुरीका पछाडी लागेर बतासिने पत्करहरुको उडान औचित्यहीन हुन्छ र जो आफ्नो मूलसँग अविच्छिन्न छ त्यसको अस्तित्वमात्र औचित्ययुक्त हुन्छ ।

डा. निर्मलमणि अधिकारीका अन्यलेखहरु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच