दर्शकले रुचाए लभ स्टेशनको ट्रेलर, ट्रेन्डिङमा माथि उक्लँदै


काठमाडौं २२ फागुन
नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । मँगलबार रिलिज गरिएको यो चलचित्रको ट्रेलर मँगलबार काठमाडौंको रिलिज गरिएको थियो ।चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको लभ स्टेशन दोश्रो फिल्म हो । यो चलचित्रको ट्रेलरमा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामलाई दर्शकले यतीबेला निकै रुचाएका छन् ।ट्रेलर निकै राम्रो बनेको र ट्रेलरले नै एउटा राम्रो लघु चलचित्रको कथा प्रस्तुत गरेको दर्शकहरुको भनाई छ । बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको लभ स्टेशनको ट्रेलर रिलिज भएको ८ घन्टामै युट्युव नेपाल ट्रेन्डिङमा आएको हो ।

ट्रेलरलाई रिलिज भएको चौविस घन्टामा ५ लाख भन्दा बढी पटक दर्शकले युट्युवमा हेरिसकेका छन् । अहिले युट्युव नेपाल ट्रेन्डिङको १८ औं स्थानमा रहेको लभ स्टेशनको ट्रेलर ट्रेन्डिङमा माथि उक्लिरहेको छ । यो ट्रेलरलाई २४ घन्टामा २४ हजार दर्शकले नै मन पराएर लाईक गरेका छन् । ट्रेलर रिलिज भएको २४ घन्टामा यसलाई चार हजर जनाले सकरात्मक कमेन्ट गरेका छन् । लगभग सबैले राम्रो ट्रेलर बनेको र फिल्म पनि त्यत्तिकै राम्रो बनेको हुनसक्ने भन्दै सकरात्मक कमेन्ट गरेका छन् ।

ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकोमा यसका प्रस्तुतिकर्ता गोविन्द शाहीले ती दर्शकप्रति आभार व्यक्त गरेका छन् । फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् ।ट्रेलर अनुसार यो चलचित्रमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाईएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ, त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ ।

उज्ज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।


Loading comments...