Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

उस्को र उन्को प्रेम कथा

९ चैत्र २०७५, शनिबार १०:००

जबजब लभबभको कुरा आँउछ नि ? मलाई ठूलठूला मान्छेहरु संग रिस उठ्दछ । जस्तै कि पाल्पाको रानीमहल बनाउने खड्ग शम्सेर जबरा, ताजमहल बनाउने शहेनशाह अनि अरु थुप्रै जस्ले मायाको नाममा यति ठूलाठूला कुराहरु बनाइदिए कि अहिले आएर म जस्तो सामान्य प्रेमी या संभावित सामान्य प्रेमीलाई निकै अफ्ठेरो पारेको छ । म न ताजमहल बनाउँन सक्छु न त रानीमहल ? तर त्यो भन्दैमा मैले गर्ने माया कम र रानीमहल र ताजमहल बनाउनेको माया धेरै भन्ने पनि त हैन ? यो माया देखाउने तौरतरिकामा मायाका आधारहरु धेरै आधारित हुने भएकाले होला म सदैव असफल प्रेमी भइरहें अनि सैयौं वर्षदेखि शहनशाह र खड्ग शमशेरहरु हिट भइरहे ।

आजको यो कथा मेरै पनि प्रेमकथा हुनसक्दछ र यदि हैन नै भनेपनि कसैको बास्तविक जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ , यो कथा उस्को हो र यो कथा उन्को हो । उ र उनी हामी मध्य जो कोही पनि हुनसक्छौँ , हाम्रो समाजमा धेरै उ र उनिहरु छन् र आज सबै उ र उनिप्रति यो कथा समर्पित गर्न चाहन्छु । ति सबै उ र उनीमा जो लावालस्कर लागेर प्रेम गर्ने सूचीमा नामांकृत छन्, आउँनुहोस् लव कथा शुरु गरौं ।

उस्को सझंना
उस्ले पनि प्रेम गर्न त फिलिम हेरेरै सिकेको हो, नाँच्न कहिल्यै जानेन तर फाईट सीन उस्को बेस्ट । उनीलाई आँखा लगाउने अरुहरुलाई तह लगाउन थुप्रै शर्ट अनि गन्जीहरु झगडा गर्दा उस्ले फटाएको छ । । स्कुलमा सर्वत्र शंका थियो उ र उनिको समबन्धको बिषयमा, अलिहेका केटाकेटीले जस्तो डेट जान कहाँ पाँउनु ? स्कुल अगाडिको पाखरको रुखको टोड्कामा लुकाएर राखेको चिठि लुकेर लिन गएको र लेखेर हालेको उ अझै संझिन्छ । अहिले झैं च्याट गर्न सहज र हातहातमा मोबाइल थिएन उस्को पालामा । पहिलो लव लेटर हप्तादिन घोरिँदा घोरिँदा बल्लतल्ल लेखेको थियो उस्ले, डराई डराई सरस्वती पूजाको दिन प्रसादको लाइन बसेर हातमा बुनिँयाको प्याकेटका साथ उनको हातमा उस्ले थमाइदिएको थियो । निकै पछिसम्म उक्तर आएको थिएन । अनुक्तरित प्रेम लगभग स्वीकार गरेकै बराबर हो भन्ने मानेर उ पछाडी हटेन । बिहिबार हाटमा उनि आँउथिन भनेँरै उ पनि जान्थ्यो तर कुनै बातचित, अकंमाल या भेट घाट गर्न हैन केवल देखादेख गर्नकालागी । अरुहरुलाई शनिबार र बिदाकोदिन भनेँपछि खुशीको सिमा हुन्नथियो तर उस्लाई स्कुल लाग्नेदिननै प्यारो थियो, उनिलाई हेर्न पाउथ्यो ।

दुबैजना एउटै स्कुलमा पढ्थे । आधा रङ्ग खुईलिसकेको उस्को साईकल थियो जस्लाई उस्ले बिभिन्न प्रकारले चलाउन सक्थ्यो जस्तै एउटा हात छोडेर, पछाडी बसेर, उभिएर र दुबै हात नि छोडेर चलाँउथ्यो, अलि खुल्ला बाटो पाँउदा । उस्को साईकलको पाईडल सँगसँगै उनीसँगको प्रेम कथा पनि अगाडी बढिरहेको थियो । एकफेरको नयाँ बर्षमा उस्ले उन्लाई बजारमा पाईने हिरोहिरोईनको फोटाभएका पोष्टकार्डमा नयाँ बर्षको शुभकामना अग्रेंजीमा लेखेर पनि दिएको थियो, “ वान ग्लास अफ वाटर टु ग्लास अफ बियर , ओ माई डियर ह्याप्पी निँउ इयर

उनि उस्को जुलियट बन्न सकिनन या भनौँ उ उन्को ज्याक बन्न सकेन र उनिहरुको प्रेमको टाईटनिक त्यसै डुबेर गयो । उ र उस्की उनिको बिछोड भयो, सपना तुहिए । उनीको बिहेको निम्तो उस्को घरमा पनि आएको रहेछ तर उ गएन । बुवा जानुभयो अनि कस्तो धुमधामसँग भएको बिहे भनेँर घरमा सुनाँउनुभएको थियो रे । बिदेशमै बस्ने केटा महिनाको यति कमाँउछ, गएको चार बर्षमा त बाटोछेउको दश कठ्ठा घडेरीपनि किनिदियो रे आमाको नाँउमा, जुन बिदेशीले उस्को माया लग्यो त्यहि बिदेशीको गुनगान पनि उस्ले राम्रैगरि सुनेछ । खुशी त उ पक्कै खुशी होली, मैले भएको भए ६ महिनाको कमाईले पनि एक तोला सुन किनिदिन सक्दिनथिएँ होला बरु ठिकै भयो अहिलेसम्म त बिदेशी रकम कमाउने ले उन्लाई धेरै सुन किनिदिसक्यो होला ? तर फेरि यहाँ मसँगै भएकी भए उनी आफ्नै माटामै हुन्थिन, केहि किन्न नसके पनि माया त गर्थे नि म उन्लाई, के थाहा बिहे गरेर हामी दुबैजनानै बिदेश पो जान्थ्यौँ कि ? संभावनाका यस्ता कुरामा उ अझै अल्झिरहन्छ ।

उस्को बर्तमान

अगाडीका सबैकुराहरु फ्लाशब्याक हुन् , उ आज पनि माथी आकाशमा बिदेशबाट आएका ठूला पिलेनको आवाज निको मान्दैन जस्को उसँग आफ्नै कारण छ ।
हरेक पिलेनमा बिदेशमा बसेका नेपाली दाजुभाईहरु सफा लुगा लाएर, सुटकेश र झोला बोकेर गाँउशहर छिर्छन र खोजी गर्छन एउटा सुशील, सभ्य र मायालु श्रीमती जस्लाई आफैँसँग लिएर जान्छन बिदेश उनिलाईजस्तै , उस्को मुख अमिलो भयो । अनि त्यसपछि उ जस्तै धेरै स्वदेशी रोमियोहरु आधा रङ्ग खुईलिएको साईकल, यादहरु र केहि फाटफुट चिठि पत्रको सहारामा बाँच्नुपर्ने हुन्छ, गाह्रो छ उस्ले थप्दै गयो । उस्को मुटुले अझै भन्छ कि उनिले उस्लाई नै माया गर्थिन रे, अझैपनि उनीले उस्लाई सम्झेर बिदेशमा धेरै रुन्छिन जस्तो लाग्छ रे उस्लाई ।

उस्को एउटा बिन्ती छ, कृपया ठूला प्लेनमा आएर उ जस्ता साना मान्छेहरुको मायालु खोसेर नलगिदेओ रे ? बिदेश जान्छौँ, उतै कमाँउछौँ, बस्छौँ बरु उतैनै कोही बिदेशी या त्यहाँ भएका स्वदेशी बिहे गरे भईगो नि । यहाँ आएर अर्काको माया खोसेर नलगिदेउ, कृपया । यो संसार गोलो छ, यहाँ धेरै दोबाटाहरु छन् र जिवन लामो छ । एकदिन उस्ले उनलाई त्यस्तै कस्तै दोबाटोमा भेटेर सोध्नेछ रे ? आखिर किन यस्तो गर्यौ भनेँर ? हुन त उन्ले जति नाँईनास्ती गरेपनि मान्नेले मानिदिए पो ? उन्का बुवाआमा आफ्नी एउटैमात्र छोरीलाई बिदेश पठाउन र लाहुरेलाई अन्माएर दिनपाएकोमा बेजोड खुशी थिए रे तर पोहोरको साल उन्कीआमाको पुरानो गानो दुख्ने बेथालाई ओखतीले नि नभेटेर डाक्टरकैमा लगेर चारदिन त सलाईनपानी दिएरै राखेको । अस्पतालमा साह्रै हुनुन्छ भनेँको सुनेपछि उस्की आमालाई पूर्याउन त्यहि साईकलमा उ पनि गएको थियो,छोरीलाई नभेटी मर्नेभएँ भनेँर उस्की हुन नसकेकी सासुआमा रुँदैथिईन । छोरी नजिकै होस भनेँर चिताउनेले किन सात समुन्द्र पठाउनु ? अस्पताल कोठाको दैलोमा बसेर उ सोच्दैथियो । बुढी अलिक बिसेक भएर घरमा आएकी छिन तर बेलाबेला अभर पारिरहन्छ रे । बिहेगरेर गएपछि चारबर्षमा प्रथम पटक उनि आउने रे भन्ने सुनियो एकवर्षको बैशाखमा ।

भावना उर्लेर आएपछि प्रश्न बिनानै जवाफ आउने रहेछ, उ क्रमश प्रश्न बिनाको जवाफ प्रस्तुत गर्दै गयो । आखिर बिदेशका सुकुमार आएपछि हामी गाँउका गुईठे हरुवा चरुवा लाई पर्खिने कोही नहुँदो रहेछ ? खै किन हो बिदेशबाट आएको भनेँपछि सबैजनाको मन पगालिँदोँ रछ प्लस टु को रिजल्टनै नआई उ गई ।

उनि गईन अनि उस्को जिवन शुन्य भयो तर समय त नरोकिने रहेछ । हरेक दिन बिहान सूर्य उनि भएका बेला जस्तै उदाईरह्यो र साँझमा अस्ताईरह्यो, जाडो गर्मी यावत रुपले समय ब्यक्तित भईरह्यो, दशैँ आयो, तिहार आयो केवल उनि आईनन र उस्को मनबाट गईनन् ।
बिर्सन त झन गाह्रो बरु संझिन सजिलो, उ लामो श्वाँस फेर्छ

उस्ले
गाँउमै बसेर पनि गरिखाएको छ, उस्ले । डलर साटेजति त कहाँ पाँउनु तर खान पुग्छ । उनी आएपछि उस्ले उनिलाई सम्पर्क गर्न चाहेको पनि छैन उहि एकचोटी फेसबुकमा उनीलाई एड गरेको थियो रे तर उता एसेप्पट भएन रे ?
उनीको बानीनै यस्तै हो, जे पनि पेन्डिगंमा राख्ने । पहिलो चोटी प्रस्ताव राख्दा पनि उक्तर नआई पेन्डिग थियो र अहिले पनि रिक्वेस्ट पेन्डिगंनै छ, उ मुस्कुरायो । अब म चाँही पेन्डिगंमा बस्दिन, उनीले छोडिन तर केहि छैन । उ अब अर्की उनिको खोजीमा थियो ।

यहाँधेरै उ हरु उनिको बियोगमा बसेका छन्, धेरै उनिहरु बिदेशबाट आएका तेस्रोपक्षसँग अन्मिएका छन् र यस्ता यस्ता कथाहरु जन्मिएका छन् । कसैको जिवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ । उनिले के भएर त्यसो गरिन् ? किन उस्लाई छाडिन ? यो कथामा उनीका भावनाहरु समेट्न सकिएको छैन, म लेखक भएका नाताले उनीसँग यो कथाको आधा भाग खोतल्न चाहीरहेको छु, एकदिन उनिसगँ भेट भएपछि या भेटेर म यो कथालाई पूर्ण बनाउने छु , यदि तपाइले उनिलाई ठम्याउन सक्नुभयो भने मलाई खबर गर्नु ल ? आखिर उनी अहिले कस्तो जिवन बाँचिरहेकी छिन ? गाँउभन्दा पर, ठूला शहरमा सुकिली मुकीली भएर के उनिले उस्लाई बिर्सिसकिन कि अझै बिर्सिन बाँकी छ ? । हाम्रो समाजमा मुटु गाँठो पारेका उ जस्ता अनि माया साटेर उडेका उनी जस्ता धेरै पात्रहरु बग्रेल्ती पाइन्छ ।

यता उस्को जिन्दगी कथा र पात्रहरुले भरिएको छ अरे , आजभोली उ मेरो असल साथी भएको छ, दिनै भेट्नेगरेको छु उस्लाई, उस्का कथाहरु अब म लेख्छु । एकदिन फेरि उस्को कथा लिएर एकदिन म आईपुग्छु त्यतिन्जेलसम्म सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला , यो कथा बैकुन्ठै जाला, भन्नेबेलामा शुरुरुरु आइजाला

कथाकार
सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले