saili film review

“साइँली” फिल्मले देखाउन खोजेको सामाजिक यथार्थ


उत्कृष्ट पक्षहरु
लेखक\निर्देशक रामबाबु गुरुङ्ग, चलचित्रको मौलिकता, रामबाबु-दयाहाङ्ग जोडीको ह्युमर , गौरभ र मेनुकाको केमिष्ट्री र अरु सबैपक्षहरु।

कमजोर पक्ष
चलचित्र हेरेपछि तपाइँहरुले केहि भेट्नुभयो भने मलाई पनि भन्नुहोला, मैले त भेटिन।

समीक्षा
धेरै कम चलचित्रहरु यस्तो हुन्छन्, जुनमा चलाचित्र सकिएपछि हलबाट बाहिर निस्किदा पाइला अगाडी बढ्दैन या बिस्तारै अगाडी बढ्छन। हाम्रो क्षेत्रमा एक बर्षमा मुश्किलले औलामा गनिन सकिने राम्रा चलचित्रहरु निर्माण हुन्छन। “साइँली” पनि त्यहि अपबाद हो। हेमन्त रानाको “सुन साइँली”बोलको गीतले नेपाली श्रोताहरुमाझ लोकप्रियता बनाएपछि उक्त गीतका मेकरहरुले “साइँली”को कथामा चलचित्र निर्माण गर्ने फैसला गरेको हो। तर, गीतमा भएको साइँली छुट्टै हुन् र चलचित्रमा भएको छुट्टै।

पिताम्बर थापा (गौरब पहारी) र बिरे (दयाहाङ्ग राइ) गाउँका दुइ अल्लारे ठिटा हुन्, पिताम्बरलाई पल्लो गाउको साइँलीसँग प्रेम हुन्छ , तर साइँली उनको साहुको छोरी हुन्छिन्। “मुनामदन” पढ्ने साइँली (मेनुका प्रधान) बिस्तारै पिताम्बरको प्रेममा पर्न थाल्छिन। तर, जात र स्तर नमिल्दा साइँलीले आफ्नो सबै छाडेर पिताम्बरसँग भागि बिवाह गर्नपर्छ। अल्लारे गौरबको घरमा बिवाह गरेर आएपछि अब ऋण तिर्ने समस्याहरु उत्पन्न हुन् थाल्छ। त्यसपछि यो आर्थिक समस्याले यो नव दम्पतिलाई कति असर गर्छ ? त्यसको लागि यहाँहरुले चलचित्र साइँली हेर्नपर्ने हुन्छ।

“साइँली” दुइ बर्ष अगाडी आएको गीत पछि एउटा ब्राण्ड नै बनेको हो। थुप्रै निर्माताहरु यस्ता ब्राण्डको प्रयोग गरेर चलचित्रको सिक्वल बनाउछन, रिमेक गर्छन। तर, लगभग दुइ चार उदाहरण छाड्ने हो भने , यसरि ब्राण्डको लिगेसी अगाडी बढाउँन थुप्रै ठुला चलचित्रकर्मीहरु पनि चुकेका छन्। ति चलचित्रहरुले ब्राण्डको कारण पैसा त बनाउछन तर दर्शकलाई सन्तुष्ट भने पार्न सकेका हुदैनन्। गीत उत्कृष्ट बनाउन १० लाइनहरु मनछुने भए पुग्छ, तर चलचित्र उत्कृष्ट बनाउन यसको स्क्रिप्टका थुप्रै पानाहरु उत्कृष्ट हुन जरुरि छ। “कबड्डी” सिरिजका लेखक निर्देशक रामबाबु गुरुङ्गले “सुन साइँली”को लिगेसीलाई यो चलचित्र मार्फत भने एउटा नयाँ उचाइ दिएका छन्। उनको लेखन यति अव्वल छ, कि तपाइँहरुले धेरै दृश्यहरुमा तारिफको तालि अवश्य बजाउनु हुनेछ। गाउठाउको रोमान्स, दोस्ती निक्कै मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रको पहिलो हाफमा रामबाबु-दयाहाङ्ग जोडीको ह्युमरले तपाइलाइ आफ्नो हासो थाम्न चुनौती दिनेछ भने दोश्रो भाग चलचित्रको बिषयबस्तुसँग केन्द्रित छ, यतिखेर भने तपाइलाइ आफ्नो आँखा रसाएको याद पनि नहुन सक्छ। चलचित्रका थुप्रै दृश्यहरु मनछुने छन्, “मेनुका घर फर्कदा एक्लै भएको दृश्य” साच्चै यथार्थले भरिएको लाग्छ। “गौरबले पुर्ववडाअध्यक्षसँग कुराकानी गर्दागर्दै रियलाइज गरेको”दृश्य होस् कि क्लाइमेक्समा बज्ने “सुन साइँली”को अनप्लग्ड भर्जन, यदि गाउघरमा हुने यो कथा तपाइले महसुस गर्न सक्नुभयो भने तपाइको जिउ सिरिङ्ग हुने पक्का हो। यो लेखक निर्देशक रामबाबु गुरुङ्गको अहिलेसम्म कै अव्वल चलचित्र हो भन्दा फरक पर्दैन।

कलाकारहरुको प्रस्तुतिले यो चलचित्रलाई एउटा नयाँ उचाइमा पुर्याएको छ। गौरब पहारीले पनि करियरकै अव्वल प्रस्तुति दिएको छन् भने दयाहाङ्ग राई यो चलचित्रको रमाइलो पक्ष हुन्। यो पात्र उनकै लागि हो, कसैले यति सजिलै यो पात्र निभाउन सक्दैन। साइँलीको पात्रमा पनि मेनुका बाहेक कसैलाई सोच्नु मुर्खता हो। दर्शकलाई आफ्नो पिडा बुझाउन उनि सफल छिन। केनिपा, माओत्से र प्रकाश घिमिरे सबैको काम प्रभावशालि छ। दुइ सिनमा मात्र भएपनि अरुणा कार्कीले छाप छाड्छिन।

चलचित्रको गीतहरु उत्कृष्ट छन्, “नाच माया” बर्षकै अव्वल गीत मध्य एक हो भने “प्याट प्याटे”को मेलोडीले रिफ्रेश गर्छ। अन्त्यमा बज्ने “सुन साइँली”ले तपाइलाई आफ्नो कुर्सि छाडीहाल्न मन लाग्दैन। चलचित्रको प्राविधिक पक्षपनि सबै अव्वल छन्।

यो चलचित्रको मौलिकताले नै यसलाई नेपालीहरुले हेर्नैपर्ने चलचित्रको सुचीमा पार्दछ। फेरी अहिले सम्म बैदेशिक रोजगारीको बिषयमा बनेका थुप्रो चलचित्रहरुमा नदेखाइएको पाटो साइँलीमा हेर्न पाउनुहुनेछ। समिक्षकले खोट निकाल्नै पर्छ भन्ने सोच भएका मानिसहरुको लागि मात्र भने म निर्देशक रामबाबुलाई एउटा प्रश्न गर्न चाहन्छु “भिजेको जुत्तामा पत्र ?”?? (हाहा) । साइँली हाम्रो गाउठाउको कथा हो, यो नेपालको कथा हो। चलचित्र हेर्न जान दोश्रो सोच नराख्नुहोला, आफ्नो साथीभाई र प्रेमिका या श्रीमतीसँग गएर यो चलचित्र अवश्य हेर्नुहोला। यो “नेपालको चलचित्र” हो। –फिल्मी फुच्चेबाट 


Loading comments...