विपत्त व्यवस्थापनमा स्थानीय निकाय सुस्त किन?


हावा हुरीले वितण्डा मच्चाएको आज तेश्रो दिन । सरकार तथा समबन्धित निकायबाट अनुगमन हुनुबाहेक पीडितहरुको राहतका लागि अहिलेसम्म एउटा टेन्ट समेत बाँड्ने पहल हुन सकेको छैन । भूँईचालोमा वितरणै हुन नपाई थन्किएको वीरगञ्ज खाद्य संस्थानको टिनको जस्तापाता कहिले काम लाग्छ?

थन्किएका जस्ता पाताको विषयमा हामीले पर्सा जिल्लाका एसपी रेवती ढकालसंग कुराकानी गर्यौं वहाँले पनि कुराकानीको क्रममा हो जस्तापाताको स्टक छ र त्यो नै वितरण गर्ने हामी पहल गरीरहेका छौं भन्नुभयो ।

यो विषयमा थप बुझ्नका लागि पर्सा जिल्लाका सिडियो नारायण प्रसाद भट्टराईसंग कुराकानी गर्यौं वहाँले कुराकानीको क्रममा हिजै विपद् व्यवस्थापन समितिसंग छलफल भईसकेको छ र हामी कोशिष गरीरहेका छौं, बताउनुभयो ।

हाम्रो एउटै प्रश्न तीन दिनसम्म छलफल र कोशिसै गरेर बस्ने की भएको कुराको तत्काल सदूपयोग गर्ने, अनि पीडितलाई राहत दिनेकुरामा गति देखाउने ।

मुख्यकुरो के भने घटना तराईमा भएको हो, मौसमका हिसाबले पनि अति असुरक्षित त्यस भेगका जनतालाई सम्भावित हावा हुरी, वर्षा तथा बढ्दो गर्मीमा निस्कने विषालु सर्पबाट सुरक्षाका लागि पनि तत्काल सुरक्षित अस्थाई वासका लागि त्रिपाल, सुरक्षाका लागि ब्याट्रिबाट चल्ने टर्च, केही थान ब्याट्रिहरु तथा भूँईमा ओछ्याउने फराकिला म्याटहरुको आवश्यक्ता हो ।

हो प्रभावित क्षेत्रको अनुगमन गर्नुपर्छ र सोही अनुसार सम्बन्धित निकायलाई निर्देशन दिनुपर्छ । तर दैनिक भिभिआईपीहरुको भ्रमण व्यवस्थापन हुनसक्ने त्यही भ्रमणमा केही थान त्रिपाल पठाउन नसकिने ? यस्तो अनावश्यक पार्टिगत भिभिआईपी भ्रमणले पीडितलाई कस्तो खालको राहत दिन्छ, जनताको बिचमा कस्तो सन्देश देला?

वीरगञ्जमा हामीले युवा नेता अरबिन्द सिंहसंग कुराकानी गर्यौं वहाँ भन्नुहुन्छ, “राम्रो पक्ष के भने समाजका सबै तप्का राजनीतिक दल, युवाहरुबाट दैनिक खाद्य सामाग्री जस्तैः चामल, दाल, चिउरा, चाउचाउ तथा पानीको संकलन तथा व्यवस्थापनको पहल भईरहेको छ । अर्को महत्वपूर्ण कुरा राहत सामग्री वितरण गर्दा एकद्वार प्रणालीद्वारा हुन नसक्दा कुनै एक गाउँमा धेरै समूहले राहत पुर्याएका हुन्छन् भने कुनै गाउँमा कसैले केही राहत पनि प्राप्त नगरेको अवस्था पनि छ । विभिन्न राजनीतिक पार्टीका नेताकार्यकर्ताहरुले सर्वदलीय बैठक बसाएर राहत संकलन र वितरण गर्दा झन् प्रभावकरी हुनेथियो ।”

अर्को महत्वपूर्ण कुरा राहत सामग्री वितरण गर्दा एकद्वार प्रणालीद्वारा हुन नसक्दा कुनै एक गाउँमा धेरै समुहले राहत पुरयाएका हुन्छन् भने कुनै गाउँमा कोइ पनि नपुगेको अवस्था पनि छ ।

हावाहुरी प्रभावित क्षेत्रका महिलाहरुको लागी अत्यावश्यक पर्ने हाइजिन कीट (पेस्ट, ब्रश, काइयो, नेलकटर, कपाल बाध्ने ३-४ प्रति रबर, स्याम्पुको पाउच, डिटोल, रुमाल, सेनिटरी प्याड तथा चप्पल जस्ता अति आवश्यक सामान सहितको एउटा व्यवस्थित झोला वितरण गर्नेतर्फ पनि विचार गरौं, यसले धेरै राहत हुन्छ । सम्भव छ र गर्न सकिन्छ जस्तो लाग्छ भने पहल गरौं यो पीडाको घडीमा सक्दो सहयोग गरौं ।

साना केटाकेटीको स्वास्थ्य तथा पोषणलाई ख्याल गर्दै यस्तो अवस्थामा उनीहरुलाई आवश्यक झोलिला खानेकुरा अरु व्यवस्था नहुञ्जेल स्थानीय स्तरमैं भएपनि व्यवस्थापनको कोशिस गरौं ।

वर्षाको मौसम सुरु भएको हुँदा फोहोर तथा जथाभावी शौचबाट फैलिनसक्ने महामारीबाट बच्न चाँडोभन्दा चाँडो अस्थायी शौचालय तथा साबुन पानीको हरेक बस्ती तथा समूहहरुमा सहज उपलब्धता तथा पानी शुद्ध बनाउने क्लोरिन जस्ता वस्तुहरु अहिलेको प्राथमिक आवश्यक्ता हो ।

नकुरौं, जे जसरी, जति गर्न सकिन्छ पहल गरौं । यो विपत्तको घडीमा पीडितको मुहारमा हाँसो भरौं ।


Loading comments...