मैले बुझेको सीता


शास्त्रार्थ एउटा गज्जबको कुरा हो, शास्त्रहरु भित्रका कुरा अनि बुझाईलाई बुझ्ने अनि व्याख्या आआफ्नै हुन्छन् । वादे वादे तत्व बोध अर्थात वादविवाद गर्दा गर्दै तत्व बोध हुन्छ भन्ने संस्कृतमा भनाई नै छ । तर शास्त्रको अल्प ब्याख्या गरेर आफ्नो कुरा मात्र ठिक हो भन्दै अन्य धर्मको बखान गर्ने अनि सनातन दर्शनमा खोट लाउने कार्य चाँही चित्त नबुझ्ने रहेछ ।

सीतालाई वनबास, अग्निपरीक्षा अनि रावणको अपहरणसंग जोडेर नारी समानताका लहरहरु बजारमा चल्न थालेका छन् । आज सीता जयन्ती हो , बसन्तको यो मनोरम कोईली कराउने दिनमा आज म पनि ब्याख्या गर्न प्रयास गर्छु मैले बुझेको सीता लाई । यी सीता जो शक्ति अनि भक्तिकी पुञ्ज हुन्, नारी प्रधानताकी प्रचुर अनुभूती अनि प्रसंग बोकेको रामयाण्कै आज केही पक्ष उक्काँउ अनि सीता रानीलाई यो शब्द माला अर्पण गर्न चाहें।

रामायण स्वयममा सीताको खोजीको एउटा दस्तावेज हो । राम एक पात्र हुन् जसले कहिले जीवन संगीनीका रुपमा सीतालाई भेटाउन त कहिले रावणको कब्जाबाट सीतालाई छुटाउन कसरत गरेका छन् । सीताको यो रामसंगको लुकाछीपी नै रामायण हो, रामायणका यदि कोही प्रधान छ भने ति हुन सीता । युद्ध सीताका लागि भएको छ, धनुष सीताका लागि तोडिएको छ, राजकुमारहरुको लहर सीताका लागि लागेको छ भनें वनबासमा दु : ख, कष्ठका बावजुद पनि सीता र रामको प्रसंगमा आशा अनि कर्तव्यको सञ्चार सीतालै नै गरेको पाइन्छ । सीता अयोनी हुन् अर्थात योनीबाट जन्म नलिएकी , धर्तीको गर्वबाट निस्केकी । त्रेतायूग अगावै लेखिएको रिग्वेदमा धर्तीकी माताका रुपमा सीतादेवीको प्रसंग छ, शायद यीनै सीता देवीको नाम दिइएको धर्तीपुत्रि अयोनी सीतालाई जानकी, मिथीला, रामनन्दनी लगायत थुप्रै नामले पुकरिन्छ ।

उता सीताका पीता या संरक्षक राजा जनक पनि प्राचीन राजाहरुमा सबैभन्दा दार्शनिक राजाका रुपमा चित्रण गरिएका राजा हुन् । उपनीषधमा जनक र यज्नवाल्यका बीचका संवाद अनि दर्शन पाइन्छ, हरेक संवाद अनि दर्शनमा जीवनमा अन्तरकुन्तर समाहित छन् ।
सीतामा पीता जनकको यही दर्शनको अझ निखारता पाइन्छ, वास्तवमा विवेकानन्दले भनेझैं सम्पूर्ण रामायण नै सीतामा आधारित छ । राम त फेरि फेरि जन्मेलान तर सीताचरित्र केवल एक हो र रहनेछ ।

वन्देऽहं देवं तं श्रीतं रन्तारं कालं भासा यः ।
रामो रामाधीराप्यागो लीलामारायोध्ये वासे ॥

भगवान श्री रामप्रति म नतमस्तक छु । सीताका बिछोडमा दुखेको हृदय लिएर सहयाद्री पर्वतहरु तर्दै रावणलाई मारेर प्राण प्यारी सीतालाई लिएर अनन्तकालका लागि अयोध्या फर्केका राम प्रति म नतमस्तक छु । १७ औं शताब्दीमा राघवा यदभियमले संस्कृतमा लेखेका श्लोकहरु हुन् । रामायणको यसै श्लोकलाई पनि उदृत गर्न चाहें
तं भूसुतामुक्तिमुदारहासं वन्दे यतो भव्यभवम् दयाश्रीः
यसको अर्थ पनि त्यही हुन्छ कि सीताका बिछोडमा दुखेको हृदय लिएर सहयाद्री पर्वतहरु तर्दै रावणलाई मारेर प्राण प्यारी सीतालाई लिएर अनन्तकालका लागि अयोध्या फर्केका राम प्रति म नतमस्तक छु । रामको उत्प्रेरणामा सीताको प्यार उत्कट देखिन्छ, सीता राममा कणकणमा व्याप्त पाइन्छ । रामायणमा सीताको महत्व राम भन्दा धेरै छ, सीताका पाइला र सीताका घटनाक्रम पछि रामका पाइला चालिएको पाइन्छ । शायद त्यसैले हुनपर्दछ, सीता पछि मात्र रामको ना आँउदछ । सीताराम आज पनि उत्तिकै चर्चित र बहुप्रयोग भएको नाम हो जति प्राचीन दिनहरुमा हुने गर्दथे ।

लाइभमाण्डु


Loading comments...