किन तपाईँले आफ्नो ख्याल गर्नका लागि समय निकाल्नपर्छ ?


हामी अफिसमा अन्तिम समयसम्म बसेर काम गर्ने वा शनिबार र छुट्टिमा पनि काम गर्ने मानिसहरुलाई प्रशंसा गरिरहेका हुन्छौँ । नेपालमा पनि कामको महत्व बुझ्ने मानिसहरु बढ्दै जान थालेपछि प्राय नीजि कम्पनीमा काम गर्ने मानिसहरुमा यो प्रशंसा सुनिन थालेका छन् । अरु देशमा बार वा दिन नभनी लगातार काम गर्ने त्यस्ता मानिसहरुमा नै सबैभन्दा पहिला कार्यस्थल तथा कामप्रति वितृष्णा जाग्ने गरेको पाइएको छ ।

नेतृत्वदायी भूमिकाका लागि लामो समयको काम र अत्यन्त धेरै मिहिनेतको जरुरी पर्छ तर यसो भन्दै गर्दा आराम वा विश्राम तथा मनोरञ्जनको खाँचोलाई पनि कम आँक्न मिल्दैन । महत्वकाँक्षी मानिसहरुलाई लाग्दछ कि उनीहरुको हरेक दिनको हरेक मिनेट कामले भरिनुपर्छ तर यसरी स्वस्थकर जीवन बाँच्न भने सकिन्न । किनकी धेरै काम गर्दैमा प्रभावकारी काम गरियो भन्ने हुँदैन । अगुवाले कुन समय जिम्मेवारीको भार उठाउन सकिन्न भन्ने कुराको हेक्का राख्न सक्नुपर्छ । नाइँ भन्न सिक्नु र सक्नु आफ्नो ख्याल राख्न सक्नु पनि हो ।
आफ्नो लागि समय छुट्याउँदा अल्छी वा आफुलाई बेमतलबी मान्न पर्दैन । कुनै व्यवसायिक परिचयभन्दा अघि हामी कसैको छोरा, छोरी, आमा वा बुवा हुन सक्छौँ । मानिस हुनुको सबैभन्दा मुख्य पाटोलाई नै हामीले बेवास्ता गर्न सक्दैनौँ । हामीले नदेखेका वा नजानेका अवसरबारे जान्न नसक्दा हाम्रो काम गर्ने उत्पादनशील क्षमतामा ह्रास आउँछ र कामको गुणस्तर पनि हुँदैन । तनावका कारणले यसले हाम्रो मानसपटलमा असर गर्दछ र सिर्जनात्मकतामा पनि । यति मात्र होइन, यही कारणले जान्दाजान्दै धेरै गल्तीहरु पनि दोहोरिन सक्छन् । काममा ध्यान नपुग्दा मसिना गल्तीहरु भइबस्छन् । जब दिमाग पिर र चिन्ताले ग्रसित हुन्छ र सकेजति काम गर्न सक्दैन, यसले काममा अलमल र समस्या बढाउँछ र सजिलो कामलाई पनि अप्ठ्यारो बनाउँछ ।

तनावका कारण शारीरिक पीडाहरु पनि देखा पर्छन् । टाउको दुख्ने र उच्च रक्तचाप त झन् व्यवसायिक संसारको साझा समस्याहरु नै हुन् । धेरै काम गरेर आउने तनावका कारण मानिसहरुले बढी खानेकुरा सेवन गरेको पनि पाइएको छ । शरीर र मस्तिष्कबीच अन्तर्सम्बन्ध हुन्छ, यसकारण एउटामा समस्या हुँदा अर्कोमा पनि असर पर्छ ।तत्वज्ञानका अनुसार मस्तिष्कले मनन गर्ने काम गर्दछ र शरीरले हाम्रो विचारको प्रष्फुटन गर्ने काम गर्छ । यसकारण पनि हरेक मानिसले मानसिक र शारीरिक दुवै स्वास्थ्यको ख्याल राख्न अत्यन्त जरुरी छ ।

कामको तनाव कम गर्नका लागि, कहिलेकाहीँ कामलाई बिर्सिएर विश्राम पनि लिनुपर्छ । मस्तिष्कलाई कामबाट आराम दिने र शरीरलाई व्यायाम दिनुपर्छ । शारीरिक व्यायाम गर्नाले शरीरमा सेरोटोनिनको मात्रा बढाउँछ जसले गर्दा मुड र स्मृति बढाउँछ भने भोक र निराशापन घटाउँछ । जब तपाईँको शरीर र मस्तिष्कले राम्रो काम गर्दछ, तब तपाईँ राम्रोसँग काम गर्न सक्नुहुनेछ । तपार्इँले आफ्नो ख्याल गर्न थालेपछि तपाईँको उत्पादनशीलता, प्रभावकारिता र मनोवृत्तिमा पनि सुधार आउनेछ ।

जब तपाईँ हप्ताको एक दिन मात्र भएपनि मनलाई शान्ति प्रदान गर्ने ठाउँमा जान पाउनुहुनेछ, तपाँईमा अनायासै विचलित हुने प्रवृत्ति कम हुन थाल्छ । जब तपाईँ आफ्नो ख्याल राख्न सुरु गर्न थाल्नुहुन्छ, तब तपाईँको वरिपरिको मानिस वा कामदारले पनि तपाईँको रिस वा तपाईँले के भन्नुहोला वा गर्नुहोला भन्ने डर मान्नपर्दैन । तपाईँले आफ्नो कार्यस्थल र घरको वातावरणलाई समेत शान्त बनाउन सक्नुहुनेछ ।
तपाईँमा बढ्दै गएको सकारात्मकताले, तपाईँको समग्र आचरण तथा कार्यशैलीमा पनि सुधार आउनेछ । हरेक दिनको व्यस्त समयमा समेत विश्रामको समय निकाल्न सक्नुहुँदा मात्र यस्ता लाभ प्राप्त गर्न सक्नुहुनेछ । आफ्नो विश्राम, मनोरञ्जन र ख्याल राखेकाहरुले आफ्नो समग्र विकास र एकै समयमा पनि धेरै काम गर्न सक्ने क्षमताको वृद्धि गर्न सक्दछन् ।

काम र व्यक्तिगत हेरचाहलाई एकैचोटि लाने काम सजिलो छैन । यसका लागि केही समय र ध्यान केन्द्रित गर्नपर्छ । केही अगुवाहरुले आराम वा विश्राम गर्नुलाई पनि कामको पाटो मानेर अभ्यास गर्ने गरेको पनि पाइएको छ । तपाईँले आराम गर्दा मानसिक रुपमा नै आनन्दित महसुस गर्न सक्नुपर्छ । याद राखौँ, सबै सफल अगुवाहरुले समेत काम र व्यक्तिगत हेरचाहलाई सँगै लान सकेका हुँदैनन् ।

आजै गर्नपर्ने काम । यी प्रश्नहरु आफैसँग सोध्नुहोस् ।
१. हरेक हप्ता कुन समय आफुलाई कामबाट टाढा राख्नुहुन्छ ?
२. आफुलाई ऊर्जा र उत्साह दिने र आनन्दित बनाउने १० कार्यहरुको सूचि बनाउनुहोस् ।
३. तपाईँको काम गर्ने तरिकालाई मनन गर्नुहोस् । के तपाईँलाई कुन समय काम रोक्ने, कुन समय कामको मूल्यांकन गर्ने र कुन समय आराम गर्ने भन्ने हेक्का छ ?
४. यो सिद्धान्तले तपाईँलाई आफ्नो अगुवाको भूमिकाबारे बुझ्न कसरी सहयोग ग¥यो ? यो सिद्धान्त प्रयोग गर्दै जानुभयो भने यसले कसरी तपाईँको प्रभावकारिता बढाउँछ ?
५. तपाईँको आफ्नो पूर्व रणनीतिमा आफ्नो ख्याल गर्ने प्रतिबद्धतालाई कसरी सार्थक बनाउनुहुन्छ ?

अब, हरेक हप्ताको क्यालेण्डर बनाउनुहँदा त्यसमा आफ्नो विश्राम र मनोरञ्जनको समय पनि छुट्याउने गर्नुहोस् ।
यसमा तपाईँले आफ्नो लागि समय कहिले छुट्याउनुहुन्छ ? त्यो समयमा के गर्ने ? यी सबको पनि योजना कोर्नुहोस् । कामको लागि छुट्याए जसरी आफ्नो लागि पनि समय छुट्याएर आफ्नो मन भर्ने काम गर्दाको हप्ता कस्तो रह्यो पनि मूल्यांकन गर्नुहोस् । तपाईँले मानसिक र शारीरिक रुपमै केही फरक महसुस गर्नुभयो ? आफ्नो लागि समय व्यतित गर्दा केही नयाँ अनुभव गर्नुभयो, यसको पनि लेखाजोखा राख्नुहोस् ।


Loading comments...