लघुकथा – नीहुरोको साग


दिनभरिको दौडधूपले लखतरान परेर घर पुगियो अबेर । ब्यागलाई भुइमा र छोरीलाई खाटमा राखेर बुढी खुईय गर्दै खाटमा लम्पसार परिन् । छोरी भोकले टेबुल तीर हेर्दैथिई , जुन टेबुल र वरिपरिको सानो सेरोफेरो नै हाम्रो भान्छा हो । पुरानो कागजले छोपेको टेबुल, स्टोभ, चक्कु, कटिङ्ग बोर्ड, भाँडा, मसालाका सिसीहरु र टेबुल मुनीका आलु, चामल, दालको बट्टा सबैले एकटक हेरिरहेका थिए हामी तिरै ।

“म त केहि गर्न सक्दिन , तपाइले पकाउनुहोस् है प्लिज” -बुढीले आँखा चिम्लिएर अनुरोध झैँ आदेश गरिन् । छोरी पनि टुलुटुलु मलाई हेरिराखेकी थिई । भात “राईस कुकर” मा बसालेर आलु खुर्किन थालेँ ।

ढक् ढक्, ढक् ढक्… कसैले ढोकामा हानेको आवाज आयो । ढोका खोलेँ ।

“ए, भाउजु नमस्कार” -छिमेकी भाउजू हुनुहुँदो रहेछ ।

“नमस्कार बाबु, खै बहिनी?, अघि देखि हेर्दै थिएँ बत्ति नै बलेको थिएन, कता जानु भएको थियो?” -भाउजूले प्रश्नको ओइरो लाइन् ।

“ गाउँ गएकी थिएँ, यो निहुरोको साग दिउँ भनेर” -भाउजू मेरो उत्तर नै नपर्खि झोलाभरिको निहुरो हातमा थमाएर हिडिन् ।

मलाई “के खोज्छस् काना आँखो” भने झैँ भयो । मज्जाले गोलभेँडा हालेर निहुरोको झोल सँग भात खाने निधो गरियो । सोचे भन्दा छिटै पाक्यो खाना । सुतेका आमा छोरीलाई उठाएँ ।

“ बास्ना त निहुरोको साग जस्तो छ?” -आँखा खोल्न गाह्रो मान्दै बुढीले सोधिन् ।

“हो, अघि उताको भाउजूले ल्याईदिनुभा, तिमीले थाहा पाएनौ” -मैले जबाफ फर्काएँ ।

“अहो, निहुरोको साग नखाएको धेरै भयो” -मुख मिठ्याइन् उनीले ।

दुईटै थालमा खाना पस्किएँ ।जोगी भाग लगाईयो ।

पहिलो गाँसमै बुढीको अनुहार टर्रो देखियो । यत्रो दुख गरेर पकाएको किन त्यसो गरेको होला भनेर झनक्क रिस उठ्यो, तर नुन हाल्न पो बिर्सिएँ कि भनेर हतार हतार चाखेँ । हरे ! खानै नसकिने तीतो रहेछ । एक अर्काको मुखमा हेराहेर गर्यौं निहुरोको साग नै तीतो भएको ठम्याउन समय लागेन ।

दुवैका आँखा रित्तो “राईस कुकर” र निहुरोको झोलमा परिरहे । छोरी कहिले मेरो र कहिले आमाको मुख हेर्न थाली । त्यति साँझमा तरकारी के पकाउने भनेर अल्झिरहेको मेरो मनको एक झोला निहुरोको जबाफ बोकेर आएकी भाउजूलाई बिहानै के भनेर धन्यवाद दिनु ? हुन त तीतो खाले निउरो भएको कुरा थाहा पाए पछि भाउजुलाई आफै झन कति अफशोच होला – सोच्दै आमा छोरीको भोको र थकित अनुहार हेर्दै टोल्हाईरहेँ निकै बेर ।

मुक्ति गौतम


Loading comments...