Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

सुन्नुस्, बाआमा, सुन्नुस् !

१४ असार २०७६, शनिबार ११:१९

कविः इन्दिरा प्रसाई

जहिले पनि, जुनबेला पनि
किन मेरा लागि चाहीँ
उपयुक्त नायक छैन ?
सधैँ, सधैँ र सधैँ
मेरो जीवनमा चाहीँ
किन कुनै बहार छैन ?

मेरा हिजोका घिनलाग्दा
ती सखीहरू पनि
कर्मठ नायकका अँगालोमा रमाएर
ठाँटिएका सुन्दरी देख्दा
हास्दै बाँचेको देख्दा
मेरा हिजोका तन्नम ती सङ्गीहरूले पनि
आफ्ना लालाबाला समेटेर
सम्वृद्धिको शिखरै टेकेको देख्दा
मभने हरेक पटकमात्र होइन
पटकपटक र जतिपटक पनि
आहत, आहत र आहतै हुनुपरेको छ ।
छातीभरि डाह र छटपटिको घाउ बोकेर
मरे तुल्य हुँदै बाँच्नुपरेको छ ।

मेरा वाल्यकालका ती सँगीनीहरू
जोसँग न त ज्ञान थियो
जोसँग न त पुख्र्यौली संस्कारै थियो
जोसँग न त विचारविज्ञानै थियो
न त आमाका गर्भबाटै तिनले
म झैँ अपार सुन्दरता नै ल्याएका थिए
तर
आज तिनै सँगीनीहरू
सुन्दरी, सीपवती र सुक्ख सम्वृद्धिका खानी भएर
मतिर हेर्दै खित्का छोडेर हाँसिदिन्छन्
अहिले तिनका अघिल्तिर
निरीह बनेकी मलाई नै
उनीहरू सिकाइरहेछन्
ती हिजोका तन्नम नै
मेरा लागि अहिले
किसिमकिसिमका जिनिस बोकेर
मेरा घरमा भित्रिँदा छन्
ती हिजोका निर्धा नै
मेरा अघिल्तिर अहिले
उनका बलिया नायकका पाखुरामा झुलेर
मतिरै हेरेर मुस्कुराउँदा छन् ।

म भने
पटकपटक हरेकपटक
नालायकको फन्दामा जेलिनु परेको छ
म भने
नालायककै शिकार बनेर
पटकपटक र हरेकपटक ठगिनु परेको छ
म भने
दिन दुईगुना र रात चारगुनाका दरले
तन्नमका दर्जामा पुग्नु परेको छ ।

किन ? किन ? र किन ?
मेरा लागि कहिल्यै
कुनै एउटा गतिलो नायक जन्मन सकेन ?
तपाईँ बाहरू !
जवाफ दिनुहोस् मलाई
किन तपाईँहरूले
तेजश्वी वीर्यदान गर्न सक्नु भएन ?
तपाईँ आमाहरू !
जवाफ चाहियो मलाई
किन तपाईँहरुले
पटकपटक हरेकपटक
नालायकैमात्र जन्माउनु भयो सधैँ ?

जतिबेला पनि
आफैँमात्र खाइरहने
जति खाए पनि
कहिल्यै नअघाउने
दन्त्यकथाकी सुरसा राक्षशीको भन्दा पनि
विशाल मुख र भूँडी भएका
अथवा अहिले पनि समुद्रमा पर्खिरहेका
जतिसुकै ठूला पानीजहाज वा युद्धपोत जहाजसमेत
निल्न सक्ने ह्वेलमाछाजस्ता
जङ्गल, पहाड र वालुवामात्र नभएर
नदी र महानदी नै पनि निल्नसक्ने
कुनै दन्त्यकथामा पनि हुँदै नभएका
राक्षशभन्दा पनि महाराक्षश
आफ्नै प्रेमिका पनि निल्न तयार
आफ्नै सन्तान र स्वास्नी पनि बेच्न तयार
मेरा नायकको म कहिलेसम्म विश्वास गरौँ ?
भन्नुस् बाआमाहरू
तपाईँहरू नै अब भन्नुस् !
मेरा नायकसँग म कतिपटक आजीत बनौँ ?
भन्नुस् बाआमाहरू भन्नुस्
के तपाईँहरूसँग मेरा प्रश्नको उत्तर छ ?

हरेकपटक पटकपटक
मलाई गिजोल्ने, लुछ्ने, हेप्ने र लुट्ने
मेरा अङ्ग प्रत्यङ्गहरू बेचेर पनि
कहिल्यै नअघाउने
मलाई टुक्राटुक्रा पारेर रमाउने
मेरो अस्तित्व नै नामेट पार्न पनि पछि नपर्ने
ए मेरा नालायक नायकहरू हो !
तिमीहरूको हत्याको कलङ्क बोक्ने
दुस्साहस पनि मैले गर्न सकेकी छैन
तर
तिमीहरूकै सामूहिक आत्महत्याको
समाचार सुन्न आतुर
मेरा प्रिय श्रवण यन्त्रहरू भने
मैले बन्दै गर्न सकेकी छैन ।

अहिले त्यसैले
नालायकद्वारा ओगटिएकी भए पनि म
लुछिएकी, लुटिएकी
र निर्धीजस्ती देखिएकी भए पनि म
अखण्ड कुमारित्वमै बाँचिरहेकी छु
किनभने अहिले पनि म
एउटा कर्मवीरको प्रतिक्षामा छु ।

भन्नुस् आमाहरू !
भन्नुस् बाहरू भन्नुस् !
के तपाईँहरू
म पनि मेरा सँगीझैँ
रमाएको हेर्न चाहानु हुन्छ ?
के तपाईँहरू
मेरा सँगीको जीवनमा झैँ
मेरो जीवनमा पनि
बहार फर्केको हेर्न चाहानु हुन्छ ?

बाआमा ! सुन्नुस्
मेरो प्रश्नको
यदि तपाईँहरूसँग
सकारात्मक उत्तर छ भने
मेरा लागि एउटा शक्तिशाली
कर्मठ र इमान्दार नायक जन्माइदिनु होस्
यदि अन्यथा हो भने
अब मलाई सदाका लागि बिर्सिदिए पुग्छ !
सदाका लागि मलाई बिर्सिदिए पुग्छ !

कुनै आवाज नआएपछि थाहा पाएँ
त्यसपछि उनी अन्तरध्यान भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,