Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

आफ्नो सन्तानलाई परीक्षाको अंकबाट आंकलन नगर्नुहोस्

१८ असार २०७६, बुधबार ०७:००

लोकप्रिय

अस्ति एउटा १७ वर्ष किशोर उसका अभिभावकद्वारा ल्याइयो । अति डराउने, काममा ध्यान दिन ग्राहो हुने, भोक र निद्रा नलाग्ने, आफुलाई कसैले माया गर्दैन भन्ने सोचले ग्रस्त त्यो किशोर आमाबुवाको अगाडि नै पर्न चाहदैनथ्यो । उसको यस्ता समस्याहरु पहिले पनि थिए । तर, एसइइको परिणामपछि भयानक नै भएको कुरा उसका अभिभावकले बताए । शुरुदेखि नै खासगरी बुवाको परीक्षामा ‘एकदमै राम्रो’ अंक ल्याउनुपर्ने, उनले सोचेको कलेजमा भर्ना हुनुपर्ने र इन्जिनियरींङ नै गर्नुपर्ने दवाब जहिले पनि त्यो अबोध मनमा बनिरह्यो । कुराकानीको दौरानमा किशोरको डर, आमाबुवाप्रतिको घृणा अति धेरै देखिन्थ्यो । आमाबुवा आफ्ना बच्चामा यस्तो समस्या देख्दा निकै अचम्भित भइरहेका थिए । आफ्नो  छोराले यत्रो दवाब लिनुपर्ने कारण आमाबाबुको आँखाले देख्नै सकिरहेको थिएन । यति साधारण कुरा एउटा बाबुआमाले देख्न नसकेको देखेर म वाल्ल परिरहेकी थिए र भित्रभित्रै रिस पनि अनुभूत हुन थालिसकेको थियो । तर यस्तो अवस्था मेरो लागि नौलो चाँही होइन । उनीहरुको नजरमा आफ्नो छोरालाई उनीहरुले संसारकै माया दिएका थिए । यो माया छोराले पाउनुपर्ने अंकभन्दा माथि कहिल्यै उठ्न सकेन । पढाईलाई लिएर आफ्नो छोराको सोच कस्तो छ भन्ने कुरा बुझेनन्, बुझ्न चाहेनन् । समाजको अगाडि छोराको अंकको महत्व उसप्रतिको मायाभन्दा कैयौं गुणा धेरै थियो । तर यो त उनीहरुको विचारमा माया थियो । १७÷ १८ वर्षको छोरो वा छोरीले आफुलाई के मन पर्छ भन्न सक्दैन, उनीहरुको नजरमा । उसलाई सदैव आज्ञाकारी’ बनाए उसका आमाबाबुले । पढाइलाई लिएर दिइने यो दवाबले छोराको अबको पढाईको स्थिति, उसको मनोदशाबारे उनीहरुले कहिल्यै सोचेनन् । छोरा ज्ञानी छ’ म कहाँ ल्याउदा पनि धेरै पटक उनीहरुको मुखबाट निस्केका शब्दहरु यिनै थिए । आफुले जे भन्यो त्यही मान्ने, प्रतिप्रश्न नगर्ने, चूप लागेर सुन्ने, आफ्नो मत नराख्ने, प्राणीलाई भनिन्छ शायद ज्ञानी, अन्यथा ऊ बद्मास, खत्तम, मुखाले र विद्रोहीमा गनिन्छ । यो छ हामी अभिभावकको सोच ।

हुन त हाम्रो शैक्षिक प्रणाली पनि त्यस्तै छ, हाम्रो परिवेश पनि त्यस्तै छ । औलामा गन्न सकिने थोरै मात्र पेशालाई ‘ ठूलो’, वा ‘सभ्य’ र शारीरिक श्रम बढी लाग्ने पेशालाई ‘ सानो’ वा ‘ असभ्य’ भनेर हेर्ने र हेर्न सिकाउने यो समाज । विज्ञानका सिद्धान्त र गणितका हिसाब किताबबारे अरुले नबुझिने भाषामा बोल्न सक्यौं, अंग्रेजीमा कुरा गर्न सक्यौं भने मात्र हामी बुद्धि भएका कहलिन्छौं । तर्कवितर्क गर्नसक्ने मानिस बुद्धिमान, संगीत, कला र साहित्यको चर्चा गर्ने, चित्र बनाउने, बालीनाली उमार्ने, खेल उत्कृष्ट खेल्नसक्ने जस्ता फरक धारका विधालाई करियर बनाउने मानिस अव्यवहारिक कहलिन्छ मेरो समाजमा । हाम्रो स्कूल कलेजका परीक्षाको मापदण्ड केवल यिनै कुरामा मात्र सिमित रहेको छ । अब, यस्ता क्षेत्रमा व्यक्तिको अभाव भएपछि अरुले पछ््याउने मानिस पनि नहुनु स्वभाविक हो ।
सन्दर्भ हो, विद्यालयमा प्राप्त गर्ने प्राप्तांक र त्यसको महत्वको आयाम । कुनै पनि विषय पढेर जाँच दिएर प्राप्त गर्ने अंकको महत्वै छैन भन्नु उपयुक्त हुँदैन, यो आलेखको उद्देश्य यो होइन पनि । पहिले पनि एसएलसीको रिजल्टपछि हुने दुर्घटनाहरु हरेक वर्ष हामीले भोगेकै हो । अहिले पनि त्यो क्रम जारी नै छ । त्यस्तो शैक्षिक प्रणालीको मूल्याकंन, जहाँ किशोरकिशोरी आफ्नो जीवन नै समाप्त गर्न उद्धत हुन्छन्, के त्यो परिवर्तन गर्न जरुरी छैन ? के त्यसप्रतिको हाम्रो सोच परिवर्तन गर्न जरुरी छैन ?

एकछिन चर्चा गरौं, ग्रेड किन त्यत्ति महत्वपूर्ण छैन जति हामीले बनाएका छौं भन्ने विषयमा । क्षमता भनेको व्यक्तिले जे गर्न सक्छ त्यो हो भने ग्रेड वा प्राप्तांक भनेको एउटा खास विषयमा निश्चित दायरामा रही व्यक्तिले जे गरिसकेको छ त्यो भन्ने बुझाउँछ । शिक्षकले कुनै एक विषयमा आफ्नो ढंगबाट केही सोध्छ, त्यहीको मापदण्डमा रही आफुले पढेको आधारमा विद्यार्थीले जवाफ लेख्छ वा भन्छ । उक्त शिक्षकको ठाउँमा अर्कै शिक्षक भए सम्भवतः अर्कै प्रश्नावली हुन्थ्यो, जवाफको रुपमा अर्कै उत्तरको अपेक्षा हुन्थ्यो । भनेपछि विद्यार्थीहरुले पढेको हरेक विषयमा फरक फरक ढंगले मूल्यांकन हुने स्वभाविक नै भयो । अर्को कुरा कुनै पनि ग्रेड र प्रणालीले पुरातन सोचबाट बाहिर आई फराकिलो सोच बनाउन र समस्या समाधान गर्ने व्यक्तिको खुबीलाई मापन गर्दैन । यसले नेतृत्व सीपको मापन गर्दैन, यसले सामाजिक सीपबारे बताउदैन । हामी अभिभावक बुझ्न चाहदैनौं कि यी सीपहरु जीवनमा हामीले स्कुल कलेजमा प्राप्त गर्ने अंकभन्दा कैयौं गुणा महत्वपूर्ण छन् । जीवनमा सफल हुनको लागि मानिस जहाँ जस्तो पेशामा होस्, यी सीपहरुबिना अपूरो हुन्छ । यदि हामीले धेरै पैसा कमाउनेलाई सफल भन्छौं भने त मेरो भन्नु केही छैन । तर कमाएको त्यो पैसाको उचित उपयोग, प्रयोग र प्रत्युपादन गर्न विद्यालयमा प्राप्त गरेको अंकले मात्र पर्याप्त हुँदैन । अभिभावकहरु, यो कुरा बुझ्नुहोस्, तपाईको र तपाईको सन्तानको जीवन सफल हुनेछ । आखिर अभिभावकको रुपमा आफ्ना छोराछोरीलाई कहाँ देखन चाहनुहुन्छ ।

सबै बच्चाहरु एकै हुँदैनन्, सबैमा एउटै खुबी पनि हुदैन । अभिभावकको रुपमा आफ्नो बच्चामा के छ, उसलाई के गर्न मन लाग्छ, उसमा के कस्ता सीपहरु छन् भन्ने कुरा बुझ्न जरुरी छ । यी कुराहरु अभिभावक र शिक्षकभन्दा बढी कसले बुझ्न सक्छ र ? यो बुझाई आंकलन गर्न विद्यालयको ग्रेडलाई मात्र आधार नबनाउनुहोस् । पाठ्यक्रममा राखेका विषयबाहेक अरु धेरै विषयहरु छन्, जहाँ तपाईको बच्चाको भविष्य हुन सक्दछ । किन हामीले आफुलाई र हाम्रा बच्चाहरुलाई पुरातन शैलीको शैक्षिक परिभाषामा सिमित राखिरहने ? हामी हाम्रा बच्चालाई अझ आफुलाई विश्वास गर्न डराउछौं । यो डरले हामीलाई विज्ञान र हिसाबका विषयहरुलाई मात्र जीवनको दिगोपनको कसी देख्दछ । यसले हामीलाई प्रयोगहरु गर्न दिदैन, यसले हामीलाई सिर्जनशील बनाउदैन, यसले हामीलाई हाम्रा क्षमताको भरपूर प्रयोग गर्न दिदैन । यस्तो अवस्थामा स्वभाविक हो यसले हामीलाई संकुचित बनाउछ । केही समयपछि पछाडि फर्केर हेर्दा निराशा र असन्तुष्टि मात्र दिन्छ । कुनै पनि अभिभावकले आफ्ना सन्तान असन्तुष्ट होउन् भन्ने चाहना राख्दैन । विभिन्न अनुसन्धानहरुले भन्छ, मानिस सफल त्यो कुरामा हुन्छ, जुन कुरा गरीरहन ऊ मन पराउछ र त्यो जान्दछ पनि । अन्ततः हामीले खोजेको कुरो हाम्रो सन्तान आफ्नो खुट्टामा उभियोस् । यो बुझौं कि पढाईको ग्रेडले सबै कुरा सिकेको भन्ने बुझाउदैन । तसर्थ उसको ग्रेडले वा प्राप्तांकले मात्र उसको भोलीका सफलताको मापन नगर्नुहोस्, यो गलत हुनेछ । हुनसक्छ तपाईको बच्चा भोली एउटा सफल कलाकार, खेलाडी, गायक जे पनि बन्नसक्दछ । हाम्रो सही मार्गनिर्देशनले हाम्रो बच्चा जे बन्छ, आत्मनिर्भर, जुझारु र जिम्मेवार नागरिक बन्नेछ । अन्ततः ऊ सफल हुनेछ ।

सुष्मा रेग्मी
मनोविद्
अन्तरंग

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा