टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्डको मनोनयन आज साँझ ५ बजे सार्वजनिक हुँदै


ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलोपटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन आज बिहिवार साँझ ५ बजे सार्वजनिक हुने भएको छ ।

अवार्डको अन्तिम घोषणा भने आगामी अषाढ १६ गते (जुलाई १) मा हुनेछ । वि विल राइज फ़ाउन्डेसनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका बिभिन्न ताल, झरना, धार्मिक स्थल, हिमाल, होमस्टे, संस्कृति, मेलासहित फरक फरक विधाका १३२ भिडियो प्राप्त भएकोमा निर्णायकमण्डलले छनौट गरेको विभिन्न विधाको मनोनयन सार्वजनिक गर्न लागिएको संयोजक निर्मल श्रेष्ठले बताए ।

आयोजकले हालै टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्डको डिजाइन समेत सार्वजनिक गरेका छन् । अवार्डको डिजाइनमा सर्वोच्च शिखरको प्रतिक राखिएको छ भने नेपालको नक्सालाई दुई हातले उठाइएको छ र यसको बिचमा मेरो गाउँ मेरो ठाउ लेखिएको छ । संयोजक श्रेष्ठका अनुसार दुवै हातले नक्सा उठाएको डिजाइन देशलाई समृद्धितर्फ उठाउ भन्ने आशयमा बनाइएको जानकारी दिए ।

प्राप्त भिडियो निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्माले छनोट गरेका छन् ।

प्रि जजिङ टोलीमा अभिनेत्री एवं निर्माता छुल्ठिम गुरुङ, विविल राईज फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ, मुकुन्द बोगटी, खड्ग परियार र संस्थाका संचालन निर्देशक अनुप बराल लगायत रहेकाछन् ।निर्णायक टोलीको संयोजक फाउण्डेसनका संस्थापक निर्देशक एवं वरिष्ठ फोटोपत्रकार विकास रौनियार रहेका छन् ।

गत जनवरीदेखि मे ३१ सम्म चलेको यस अभियानलाई देशका सबै क्षेत्रका सयौं विशिष्ट व्यक्तिहरुले साथ दिदै भिडियो संदेश दिएका छन् ।कुनै अभियानका लागि समाजका विभिन्न क्षेत्रका यति धेरै प्रतिष्ठित व्यक्तिहरु एक ठाउमा आएको यो पहिलो पटक देखिएको छ । यस अभियानमा देशका सिनेमा, खेलकुद, पर्यटन, शिक्षा, राजनीति, सरकारी उच्च तहका कर्मचारी, आरोही, पत्रकारसहित समाजका प्रतिष्ठित व्यक्तिहरुको साथ पाएकोले नै यसलाई हरेक बर्ष निरन्तरता दिने निर्क्यौलमा पुगेको फाउन्डेसनका संस्थापक निर्देशक समेत रहेका श्रेष्ठले बताउछन् ।

यस अभियानलाई हरेक बर्ष ‘मेरो गाउँ मेरो ठाउँ, पर्यटन अवार्डका रुपमा आयोजना गर्न लागिएको संयोजक श्रेष्ठले जनाए ।


Loading comments...