नोबेल अस्पताल तनावग्रस्त : शनिबार मृत्यु, आइतबार जानकारी


विराटनगर / बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पताल तनावग्रस्त भएको छ । शुक्रबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल अस्पताल पुगेका दुहबी ५ घर भएका ४० वर्षीय अनिल साहको उपचारको क्रममा शनिबार मृत्यु भएको थियो । तर, चिकित्सकले आइतबार बिहान ६ बजे मात्र मृत्युबारे आफन्तलाई जानकारी दिएका थिए ।

एसियन थाइ फुडसको प्रडक्सन म्यानेजरको रुपमा काम गर्दै आएका उनलाई डा. अमित अग्रहरी र डा. सन्दिप अधिकारी टिमले उपचार गरेका थिए । यता आफन्तले चिकित्सकका लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएपछि सुनसरीको दुहबीवासी आन्दोलित भएका छन् भने उनीहरुले दुहबी बजार बन्द समेत गराएका छन् । शुक्रबार दिउँसो ३ बजे साहलाई अप्रेसनको लागि लगिएको परिवारले जनाएको छ । तर, उनको स्वास्थ्य अवस्थामा समस्या देखिएको भन्दै भेन्डिलेसनमा राखिएको थियो । उता परिवारले विरामीको स्वास्थ्य अवस्था बारे बुझ्दा चिकित्सकले केही जानकारी नगराएको आफन्तको आरोप छ ।

मृतकका परिवारले अस्पतालमा नाराबाजी गरेपछि अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको विराटनगरका स्थानीय पत्रकार मिश्राले जानकारी दिए । उनका अनुसार अहिले अस्पताल तनावग्रस्त रहेको र प्रहरी परिचालन तीव्र परिएको बताए ।


Loading comments...