खड्ग दाइ चिरञ्जीवी हुनुपर्छ: नरेन्द्रराज प्रसाई


खड्गप्रसाद वलीलाई दाइ भन्दा पनि मलाई गौरवीबोध हुन्छ । किनभने उहाँको साक्षात जीवनी मैले पढेको छु । धुलोबाट उठेर उहाँ प्रधानमन्त्री बन्नुभयो; त्यो बेहोराबाट म अति प्रेरित छु ।

खड्ग दाइको मन सानो छैन । उहाँको दिल जति ठूलो भए पनि उहाँलाई साँगुरिन बाध्य पार्ने एउटा अदृश्य समूह हुनुपर्छ भन्ने मलाई लागिरहेको छ र त्यसै समूहले नै उहाँको फराकिलो मैदान खोस्न सफल भएको छ भन्ने मेरो बुझाई रहेको छ ।

खड्ग दाइको मन अति नरम छ । उहाँसँग म ५० वर्षदेखि नै परिचित छु । उहाँमा मैले घमण्ड, अहङ्कार र तामस देखेकै थिएन । उहाँले सधैँ प्राय: बोलेका कुरा पनि पुर्याउनु हुन्थ्य‍ो । तर पछिल्ला दिनमा उहाँको छेउभित्तामा असजिला मान्छेहरूको पदार्पण भएको छ भन्ने मभित्र अनुभूत हुनथाल्यो ।

खड्ग दाइ कति संवेदनशील हुनुहुन्छ भन्नेको एउटा प्रमाण पनि म पेस गर्न चाहन्छु । एक पटक उहाँले हामी नइलाई बोलाउनु भयो; इन्दिरा र म प्रधानमन्त्री निवास बालुवाटार पुग्यौँ । उहाँले हामीलाई अति माया र सम्मान गर्नु हुन्थ्यो र त्यस दिन पनि त्यसै गर्नुभयो । हामी उहाँलाई भेट्न गएको हाम्रो कामबारेको त्रिमूर्ति निकेतनको पत्र उहाँ छेउ उभिएर इन्दिराले पढिरहेकी थिइन् । उहाँले तुरून्तै उहाँका अङ्गरक्षकलाई भन्नुभयो- “इन्दिरालाई कुर्सी ल्याइदिनु ।” अनि तुरन्तै अङ्गरक्षकले कुर्सी ल्याइदिए ।

मेरा आदरणीय खड्ग दाइको मिर्गौला प्रत्यारोपण सफल होस् । खड्ग दाइले यो देशको भत्केको खाल्डो पुर्नुपर्छ र चिथोरिएको घाउका डोबहरू टाल्नुपर्छ । उहाँ एउटा दलको मात्र प्रधानमन्त्री नभएर समस्त राष्ट्रकै प्रधानमन्त्री बन्नुपर्छ । उहाँ मुलुककै गौरवी प्रधानमन्त्रीमा अभिलिखित हुनुपर्छ । अनि नेपालको इतिहासमा उहाँको उच्चस्तरीय छवीको गाथा समेत लेखिनुपर्छ ।

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद वलीका प्रेरणाले आफ्नै राष्ट्रमा उपचार गर्न नेपालका सबै नेताको मति जागोस् !
~
भगवान् श्रीपशुपतिनाथसँग मेरो प्रार्थना छ- “खड्ग दाइ चिरञ्जीवी हुनुपर्छ ।”


Loading comments...