सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२८ बैशाख २०७७, आइतबार । सिन्धुली- चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरे ।

केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।

सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् । त्यो ट्वीटलाई डिलिट गरी नेपाल-चीनको सीमामा अवस्थित सगरमाथा भनेर पुनः सोही समाचारलाई ट्वीट गरेको थियो ।


Loading comments...