मुटुरोगबाट बच्ने बाटो


यदी तपाईं मुटुरोगबाट बच्न चाहनुहुन्छ भने निम्न लिखित कुराहरुमा ध्यान दिनुस् । प्रायजसो अवस्थामा केही न केही मुटुरोगको जोखिम भएकै ब्यक्तीमा हृदयघात (हार्टअटेक), मस्तिस्कघात वा अन्य मुटुरोग लाग्ने गर्दछ । त्यसैले तपाईंसँग त्यस्ता मुटुरोगका कुनै जोखिमहरु छन कि छैनन पत्ता लगाउनु जरुरी हुन्छ । यदी केही जोखिमहरु छन र तपाईंले त्यसको समयमै पहिचान र नियन्त्रण गर्नसक्नु भयो भन्ने मुटुरोगको सम्भावित खतराबाट बच्न सक्नुहुन्छ ।

लामो समयदेखी यस्तै जोखिमहरु शरीरभित्रै भएर पत्ता नलागेर नियन्त्रण नहुँदा नै मानिसलाई मुटुरोगको सम्भावना बढेको बुझिन्छ । किनभने मुटुरोगको थालनी भाईसकेको धेरै महिना र वर्षसम्म पनि केही लक्षण देखा नपर्न पनि सक्छ । प्राय: मुटु रोग अगाडि बढीसकेपछी मात्र हामीमा लक्षण देखिने भएकोले यसको कारण पत्ता लगाई रोकथाम र नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ ।

डा. ओम मुर्ति अनिल
वरिष्ठ मुटुरोग विशेषज्ञ

आफ्नो अनुभव, वैज्ञानीक आधार, वर्तमान सामाजिक अवस्था र मुटुरोगको अवस्था हेर्दा प्रत्येक नेपाली वयश्कलाई प्राथमिकताको आधारमा केही महत्त्वपूर्ण सल्लाह दिन चाहन्छु ।

प्रथम : चुरोट/मदिरा
अरु सबै कुरा राम्रो भएपनी यो कारणले मात्र पनि तपाईंलाई मुटुरोगको जोखिम हुन्छ । र अरु केही जोखिमहरु पनि छन भने यो झन बढी खतरनाक हुन सक्छ । स्वस्थ्य भविश्यको लागि चुरोट खाँदै नखानु र मदिरा पनि सकेसम्मा नखानु व कम खानु सुरक्षित हुन्छ । चुरोटले हार्ट अटेक र मदिराले ब्रेन अटेकको खतरा २-३ गुणा बढाउँछ ।

दोस्रो : उच्चरक्तचाप
प्रत्येक घरमा १-२ जनालाई उच्च रक्तचाप भएको र अधिकांशले औषधी खान न चाहेको र औषधी खाएपनी धेरैको रक्तचाप राम्रो नियन्त्रण नभएको अवस्था देखिन्छ । यस्लेगर्दा मुटु, मस्तिस्क र म्रिगौला मा ठुलो, दीर्घ र नदेखिने असर प्रतेक क्षण भईरहेको हुन्छ । रक्तचापको नियन्त्रण शुरुवातबाटै गर्न सकेमा यस्को प्रकोपबाट सजिलै बाँच्न सकिन्छ । तर समाज मा विद्यमान भ्रमहरुले असंख्य ब्यक्तीहरुको स्वास्थ्यलाई जोखिमामा मात्रै होइन कि अल्प आयुमैं ज्यानको खतरा बढेको देखिन्छ । समयमैं चिकित्सकिय प्ररामर्श अनुसार जीवनशैली, खानपिन र औषधीको उपयुक्त प्रयोगले हामी आफुलाई संरक्षित गर्न सक्छौ ।

तेस्रो : कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हृदयाघातको खतरा लगभग ३ गुणा बढाउँछ । कोलेस्टेरोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै धेरै हुन्छ । उच्च कोलेस्टेरोलको केही लक्षण हुँदैन, रगतको जाँच नगरेसम्म उच्च कोलेस्टेरोल छ कि छैन थाहा हुँदैन । त्यसैले बिहान खाली पेटमा रक्तपरीक्षण गरी आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनुहोस् । मधुमेह, उच्च रक्तचाप, मोटोपना र परिवारमा हृदयाघात भइसकेको व्यक्तिले आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ ।

२० बर्ष भन्दा माथिका प्रतेक ब्यक्तीले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा कती छ थाहा हुन्पर्छ । कोलेस्तेरोललाई ३ महिना भित्र खानपिन र सामान्य जीवनशैली अपनाएर नियन्त्रण गर्न नसकेको अवस्थामा औषधीको प्रयोग निरन्तर लामो समयसम्म नटुटाइ गर्नु नै सर्वोत्तम मानिन्छ । कहिलेकाँही शुरुवातबाट नै औषधी सेवन गर्नु राम्रो हुन्छ ।

चौथो : मधुमेह
मधुमेह हुनेहरुलाई हृदयाघातको खतरा २-३ गुणाले सामान्यहरुभन्दा बढि हुन्छ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । बिहान खाली पेटमा रगत जाँच गरी सुगरको मात्रा थाहा पाउनुहोस् । सुरुसुरुमा मधुमेहको केही लक्षण नहुन सक्छ । त्यसैले रक्तपरीक्षण नै मधुमेह थाहा पाउने उपयुक्त तरिका हो । मधुमेहको उचित उपचार गर्नसकिएमा मुटु रोगको सम्भावना घट्छ । मधुमेहको बिरामीले प्रेसर, सुगर, कोलेस्टेरोलको राम्रो नियन्त्रण गर्नुपर्छ । एक खिल्लि चुरोट पनि पिउनु खतरा भन्दा कम हुँदैन ।

पाँचौ : मोटोपना
यदि तपाईं मोटो हुनुहुन्छ वा कम्मर वरिपरि धेरै बोसो छ भने हृदयाघातको खतरा बढी हुन्छ । तपाईंले आफ्नो चाहिने तौल पत्ता लगाउन उचाईंलाई सेन्टिमिटरबाट १०० घटाउनुहोस् । यसरी घटाउँदा निस्कने कूल अंक भन्दा तपाईंको तौल कम हुनुपर्छ । जस्तैः १६० सेमि उचाइ हुँदा, तपाईंको तौल १६०-१०० गरेपछि ६० निस्कियो अब तपाईंको तौल ६० केजीभन्दा बढी हुनुहुँदैन । आफ्नो पेटको मोटाइ नाइटोको वरिपरि नाप्नुहोस् र हिपको मोटाइ सबभन्दा चौडा भागमा नाप्नुहोस् कम्मरको नाप र हिपको नापको रेसियोलाई ‘वेस्ट हिप रेसियो’ भनिन्छ । यो रेसियो पुरुष र महिलाको क्रमश ०.९० र ०.८५ भन्दा कम हुनुपर्छ ।

परिवार, कार्यालय वा अर्थव्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयाघात निम्त्याउन सक्छ । डिप्रेसनले पनि हृदयाघात निम्त्याउन सक्छ । तपाईंलाई पनि डिप्रेेसन वा अत्याधिक तनाव छ कि छैन विचार गर्नुहोस् ।

नियमित रूपमा अत्यधिक मदिरा सेवन गर्नु वा एकदिनमै अत्यन्तै धरै मदिरा सेवन गर्नु (बिन्ज ड्रिन्किङ) ले पनि हृदयाघात निम्त्याउन सक्छ । पुरुषले २० ग्राम र महिलाले १० ग्राम प्रतिदिनभन्दा बढी मदिराको सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यदि तपाईंलाई माथि उल्लिखित १ भन्दा बढी कारक तत्त्वहरू छन् भने हृदयाघाताको खतरा धेरै गुणा बढी हुन्छ । तपाईं आफ्नो दिनचर्यामा ससानो परिवर्तन गरेर हृदयाघातबाट सजिलैसँग बच्न सक्नुहुन्छ । तलका उपाय अपनाएर हृदयाघातबाट बच्नुहोस् ।

अन्य महत्त्वपूर्ण सल्लाहहरु 

  1. नियमित रूपले ताजा फलफूल, प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्नोस् ।
  2. नियमित शारीरिक गतिविधि, दैनिक आधा घन्टा हिँडडुल गर्ने बानी बसाल्नुहोस् । -हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, ट्रेड मिलमा दौडिने । याद राख्नुहोस्: जटिल वा गाह्रो व्यायामले उल्टै मुटुलाई हानि पनि गर्न सक्छ ।
  3. मदिराको सेवन नगर्ने
  4. मोटोपना भएमा तौल घटाउने र नियन्त्रण राख्ने ।
  5. आफ्नो दैनिक आहारमा नुन, चिनी, घिउ र चिल्लो (फ्याट) को सेवन सकेसम्म कम गर्ने
  6. डिप्रेसन वा तनावलाई कम गर्ने, यसका लागि घर र कार्यालयमा सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने
  7. चुरोट/बिडीको सेवन बन्द गर्नुहोस् । यसको सेवन बन्द गरेको दिनदेखि नै हृदयाघातको खतरा कम हुँदै जान्छ ।
  8. मिधुमेह, उच्च कोलेस्टेरोल, उच्च रक्तचापको नियन्त्रण गर्नुहोस् । यसका लागि नियमित शारीरिक गतिविधि, स्वस्थ आहार, तौल घटाउने र आवश्यक परेमा औषधि प्रयोग गर्नुहोस् ।

    यो पनि पढ्नुहोस्ः

व्रत बस्नुका वैज्ञानिक आधार र फाइदा


Loading comments...