फेसबुकमार्फत महिलालाई अश्लील सन्देश पठाउने २ जना पक्राउ


काठमाडौं । फेक इमेल तथा सामाजिक सन्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लील सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवं हैरानी गरेको अभियोगमा दुई जनालाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका ७, गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका ३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६, कल्याणपुर बस्ने ३५ वर्षीय थमबहादुर विश्वकर्मा छन् । सुमनलाई काठमाडौंबाट र थमबहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवनसमेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।

सुमनले फेक इमेल बनाएर महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने कार्य गरेको तथा थमबहादुरले फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर पठाउने, अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने एवं हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।


Loading comments...