NRNA logo

एनआरएनएमा विवादको पत्र परराष्ट्रमा, विशेष अधिवेशन रोक्न माग


गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादलाई लिएर परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको हो । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी ) का चार जना सदस्यसहित पाँच जनाले संयुक्त रूपमा नेपाल सरकारसँग विशेष अधिवशन रोक्न माग गर्दै निवेदन दिएका हुन् ।

संघका आइसीसी सदस्यहरू चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया), विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले दिएको निवेदनमा संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती विशेष अधिवेशन तोकेको दाबी गरिएको छ ।

‘आगामी २०२१ जनवरी २३ र २४ तारिखमा आयोजन गर्ने भनिएको गैरआवासिय नेपाली संघको भर्चुल विशेष महाधिवेशन, प्रचलित नेपाल कानुन, संघको विधान तथा आम सदस्यहरूको भावनाविपरीत हुन लागेको, सो विशेष महाधिवेशन स्थगन गर्न संघका अध्यक्षलगायत पदाधिकारीहरूलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनवाई नगरेकोले, बाध्य भई गैर आवासिय नेपालीसम्बन्धी नियमावलीको २०६६ को नियम १६(१) बमोजिम अनुगमन गरि नियम १६(२) बमोजिम निर्देश दिई सो विशेष महाधिवेशन स्थगित गरि पाउन हामी निवेदकहरू निवेदन गर्दछौँ’ उनीहरूले परराष्ट्र मन्त्रालयमा दिएको निवदेनमा भनिएको छ ।

वर्तमान नेतृत्वले आफ्नो स्वार्थ पूरा गर्न विशेष महाअधिवेशन आयोजना गर्न लागेको उल्लेख गर्दै उनीहरूले भर्चुल विशेष महाधिवेशन तत्काल रोक्न मन्त्रालयसँग अनुरोध गरका छन् । भौतिक रूपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन गर्नुपर्नेमा स्वार्थका लागि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुएल रूपमा गर्न खोजेको र त्यो विधानविपरीत हुने उनीहरूको तर्क छ ।

‘गत २२ नोभेम्वर २०२० मा बसेको संघको ७५औँ बैठकमा अध्यक्ष कुमार पन्तले २३ र २४ जनवरी २०२१ म संघको विशेष महाधिवेशन गर्न प्रस्ताव राख्नु भएको तर त्यसबारे निर्णय वा छलफल नहुँदै उहाँ स्वयं बैठक छाडी बाहिरिनुभएको थियो । जबकी अहिले जनवारी २३, २४ मा विशेष महाधिवेशन गर्ने निर्णय भएको भनेर अध्यक्षले अभिव्यक्ति दिनु र कुनै आधिकारिक निर्णय पुर्व नै यस मन्त्रालयसँग विशेष महाधिवेशनका लागि अनुमति माग्नु सर्वथा गैर कानुनी छ,’ पत्रमा भनिएको छ ।


Loading comments...