तीव्र गतिमा निर्वाचनको तयारी सुरु, नयाँ मतदाता नामावली थपिँदै


काठमाडौं। जिल्ला निर्वाचन कार्यालय काभ्रेले निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार सुरु गरेको छ । आजदेखि आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको हो ।

पहिलो चरणको काम मतदानस्थल र केन्द्रको अवस्था तथा स्थानीय तहहरुबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारी दिए । सो क्रममा नेकपाका प्रतिनिधि नारायण पाण्डे र कांग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्रबाहेक अरु मतदानस्थललाई अहिलेका लागि नचलाउन सुझाव दिए ।

छलफलका क्रममा मतदानस्थल र केन्द्रसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकका लागि दाबी विरोध कार्यक्रमअनुसार यही माघ १५ देखि २६ गतेसम्म स्थानीय तहका केन्द्र र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सञ्चालन हुने जनाइएको छ । मतदानका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि शुद्ध मतदाता नामावली तयार गर्न त्रुटि सच्याउने र दोहोरो भएको पाइएमा हटाउने कार्यका लागि नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

विसं २०७४ को निर्वाचनमा काभ्रेमा दुई लाख ७२ हजार २९२ मतदाता संख्या रहेकामा अहिले दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ । अद्यावधिक चुनाव गर्ने बेलामा त्रुटि सच्याउने र दोहोरो हटाउँदा संख्यामा केही कमी आउन सक्ने निर्वाचन अधिकारी राईले बताए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने राज्यबाट चलाइएको अभियानमा सबै तहबाट सहयोग गर्न आग्रह गरे ।


Loading comments...