तपाईले देख्ने सपनाले भविष्यको संकेत गर्दछ ? हेर्नुहोस्


काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न मात्र सक्दछौं । आफैले थाहा पाउन गाह्रो हुन्छ वा हामी आफैले जाँचेका छैनौं । विश्लेषकहरु भन्छन्, अरुको भनाइमा लागेर अनुमान मात्र गर्नु वा यो राम्रो, यो नराम्रो भन्नु गलत हो । आफूले देखेका सपनाको आफैले विश्लेषण गर्न सकिन्छ । कुन सपना देख्दा कस्ता घट्ना घटे, आफ्ना सपनाको विश्लेषण आफै गर्नुपर्दछ । व्यक्ति अनुसार सपना फरकफरक हुने गर्दछ । एकजना मानिसले एउटा सपना देख्दा शुभ हुन्छ भने त्यही सपना अर्को मानिसले देख्दा अशुभ पनि हुन्छ । व्यक्ति अनुसार सपनाको फल शुभ वा अशुभ हुने गर्दछ ।

महिलाको देब्रे आँखा फर्फराउँदा शुभ भनिन्छ भने पुरुषको दाहिने आँखा फर्फराउदा शुभ मानिन्छ । तर पुरुषको देब्रे आँखा फर्फराउँदा पनि शुभ भएका घट्नाहरु सुनिन्छन् । सपनाले भविष्यप्रति संकेत गर्छ कि गर्दैन यो पनि यकिन गर्न कठिन छ । तर पनि आफ्नो सपनाको आफैँले विश्लेषण गरेर दाहिने आँखा फर्फराउँदा कस्ता घटना घटेका थिए र देब्रे आँखा फर्फराउँदा कस्तो घट्ना घटेका थिए आफैले अध्ययन गरी विश्लेषण गर्न सकिन्छ ।

सबै सपनाको फल आउँछ भन्ने हुँदैन । विपनामा पनि त सपना आइरहेको हुन्छ । मनमा कुरा खेलिरहेको छ । तरङ आइरहेको छ । बितेका घट्नाहरुको झझल्को आइरहेको हुन्छ । भोलि के हुन्छ भनेरे कुरा खेलिरहेको हुन्छ । कल्पना आइरहेको छ । अहिले भर्खर वर्तमानमा के भइरहको छ भन्ने याद हुँदैन भने ती पनि सपना नै हुन् । हामी बिऊँझेर पनि सपना देखिरहेका हुन्छौँ । त्यही सपना देख्ने क्रम राति पनि रहन्छ । दिउँसो हाम्रो चैतन्यता प्रगाढ हुन्छ, बिउँझेको बेलामा त्यस्ता सपनाहरु ओझेलमा पर्दछन् । राती हाम्रो चेतना निदाउँछ अथवा चेतना कम हुन्छ त्यस्तो बेलामा सपनाहरु प्रकट हुन्छन् । आकाशमा सधैँ ताराहरु उदाइरहेका हुन्छन् तर सूर्य उदाएका बेलामा नदेखिने मात्र हो । त्यस्तै गरी हाम्रो चेतना लुप्त हुन्छ, निदाएको बेलामा हाम्रो चेतनामा बाहिरको वातावरण जान्ने क्षमतामा कमी आउँछ । कल्पना, मनमा खेल्ने कुरा वा मनमा देखिएका कुराहरु प्रगाढ हुन्छन् । जब हामी बिउँझिन्छौ चेतना प्रगाढ हुन्छ । सपनाहरु र कल्पनाहरु देखिँदैनन् । तर सपना भने निरन्तर चलिरहेको हुन्छ । हामीले गरेका कल्पनाहरुले पनि प्रभाव छोड्छन् अनि सपना देखिन्छन् ।

कहिलेकाहीँ मनमा आउने तरङ्गहरुले भोली हुने घट्ना संकेत गर्दछ र भोली त्यस्तै घट्ना हुन्छ । यदाकदा दिउँसो चल्ने सपना पनि पूरा हुन्छ । राती देखिने सपनाले भविष्य संकेत गर्दछ । यो निरन्तर चलिरहने प्रक्रिया हो । हाम्रो चेतना, अन्तस्करण अत्यन्तै प्रभावशाली छ यसलाई भूत, भविष्य र वर्तमानको ज्ञान छ । हाम्रो अन्तस्करणलाई थाहा नभएको कुरा केही छैन । सर्वज्ञाता छ, भविष्यको पनि ज्ञान छ, बितेका कयौं युगदेखि घटेका घट्ना पनि संग्रहित छ । कहिलेकाहीँ यो अन्तस्करणबाट भविष्यको कुरा बाहिर आउँछ, कहिले आउँदैन । बाहिरी आवरण,हाम्रो कामना, मोह, ईच्छाहरुले अन्तस्करणलाई ओझेलमा पारेको छ र हामीले भविष्यमा हुने घट्नाहरु देखिरहेका छैनौं । एकैछिन शान्त भयौं भने तथा ध्यानको अवस्थामा पनि भविष्यको संकेत आउँछ । अन्तस्करणबाट जे आउँछ त्यो प्रति हामी सजक हुनुपर्दछ । आफूप्रति सजक भयौं भने मात्र कुन सपना, कुन कल्पना र धारणाले कस्तो प्रभाव पार्दछ हामी स्पष्ट हुन्छौँ ।

सपनाको बारेमा गितामा भगवान कृष्ण अर्जुनलाई संकेत गर्नुहुन्छ । सारा संसार सुतिरहेको हुन्छ, योगीहरु बिउँझिरहेका हुन्छन् । दुनियाँ निदाएको अवस्थामा योगीहरु जसले होसका साधना गरेका हुन्छन्, सजकताको साधना गरेका हुन्छन् । जतिबेला पनि जागरुक रहने, वर्तमान क्षणमा बसिरहने साधना गरेका हुन्छन् यस्ता व्यक्तिहरु निदाएर पनि निदाउँदैनन् । अथवा शरीर पुरै निदाएको हुन्छ तर चेतना निदाउँदैन । सामान्य मानिसको सुतेपछि शरीर निदाउँछ, मन निदाउँछ, मन निदाएको अवस्थालाई सुसुप्ति भनिन्छ । त्यो अवस्थामा शरीरको साथसाथै थाहा पाउने क्षमता र चेतना निदाउँछ तर योगीहरुको निदाउँदैन । उनीहरुले होस र सजकताको अभ्यास गरेका हुन्छन् । त्यही अभ्यासको कारणले सपना देख्दा पनि थाहा हुन्छ पहिलो प्रहर,सुरुमा सुत्नासाथ शरीर निदाउँछ मन निदाएको हुँदैन। त्यो बेलामा सपना पनि योगीहरु देखेका हुन्छन् । त्यसपछि मन निदायो र पनि थाहा पाउने क्षमता प्रगाढ छ । शरीर निदायो मन निदायो तरपनि थाहा पाउने चेतना जागृत रहन्छन् । त्यसै कारण आफ्नो चेतनालाई कहिल्यै बेहोस हुन दिनु हुँदैन । मन निदाओस्, शरीर निदाओस् तर चेतना निदाउन दिनुहुँदैन । चेतना निदाएको छैन, चेतनाको दियो बलेको छ भने नराम्रो सपना देखिँदैन । होसपूर्वक निदाउन जानेपछि नकारात्मक सपनाहरु सबै हटेर जान्छन् ।

बेलुकी सुत्ने बेलामा यदि सम्भव हुन्छ भने आफूलाई अनुकुल मनतातो पानीमा नुहाउने, नुहाइसकेपछि सफा कपडा प्रयोग गर्नुपर्दछ । जसले गर्दा शुद्धताको अनुभुति वा पवित्रताको अनुभुति मनमा आओस् । आफ्नो विस्तारा वा प्रयोग गर्ने कपडाहरु सफा हुनुपर्दछ । ध्यान गर्न सभ्भव हुन्न भने धारण गर्ने । धारण भन्नाले आफूलाई मन पर्ने तस्वीरहरु सम्झने जस्तै, भगवानको तस्वीरहरु । आफूले मान्ने भगवानलाई सम्झँदा हृदय तरंगित हुन्छ । जसलाई सम्झँदा हृदय तरंगित हुन्छ, त्यस्ता व्यक्तिहरुलाई सम्झँदा नराम्रो सपनाबाट हामी पुर्णतया वञ्चित हुन्छौं। ईश्वर, भगवान तथा महापुरुषलाई सम्झियौं भने हाम्रो जीवनमा पनि उनीहरुकै प्रभाव पर्दछ र जीवन रुपान्तरण हुन्छ ।


Loading comments...