भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको भारत-नेपालद्वारा समीक्षा


नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको । भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव श्री केशव कुमार शर्माको सह–अध्यक्षतामा उक्त बैठकको आयोजना गरिएको थियो ।

उक्त बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासिल गरेको उपलब्धि उपर सन्तुष्टि व्यक्त गरेको थियो । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताए ।

नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडकहरु (१४ वटा प्याकेज/ठेक्कामा विभाजित) को निर्माण हेतु भारत सरकारले सन् २०१६ मा नेरु. ८०० करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको थियो । यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ । २०७७ चैत्र १८ गतेका दिन माननीय नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाली जनतालाई हस्तान्तरण गरिसकिएको दुवै पक्षले उल्लेख गरे ।

बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाल लगायतका पूर्वाधार विकासमा पुर्र्याएको निरन्तर सहयोगको सराहना गर्यो । भारत सरकारले पनि दुई देशबीच सम्पर्क बढाउन नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाउँदा हर्ष व्यक्त गर्यो ।

बैठक सौहार्द वातावरणमा सम्पन्न भयो । समितिको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा आवश्यकता अनुरुप गर्ने सहमति भयो ।


Loading comments...