मुलुकका परिकल्पनाकार पृथ्वी नारायण शाह


थाकखोला किनारका कवि भूपी शेरचनले मेची देखि महाकालीलाई अमिट कविता कोरिदिए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए

इतिहासलाई मिचेर नयाँ ब्यवस्थामा वर्चस्व कायम गर्दै नेपालीजनलाई नयाँ ढगंवाट शाषन गर्न चाहने गिद्धहरु सक्रिय छन् । इतिहासका पात्रहरुलाई समेत आक्रमण अनि प्रश्नचिह्न गर्दै वर्तमानमा सामन्तवादको बिरोध गर्नेहरुका बिदेशी बैंकमा अरबौं डलर भरिरहँदा नेपाली अनुहारहरु गरिबी अनि त्रासदिको चित्कार भित्र नै छन् । एउटा वशं या खलकलाई नै आरोप गरेर विरासतको नाममा प्रजातन्त्रको खोल आढेकाहरु हाम्रो पहिचान र मौलिकतामाथि धावा बोलिरहेका छन्, सतर्क रहन जरुरी देखिन्छ ।

पौष २७ मा पृथ्वी नारायण शाह दिवसमा पृथ्वी नारायण शाहको पात्र अनि चरित्रमाथि नै प्रश्नचिह्न खडा गरिन थालिएको दशकौं भइसक्यो । हामी आज पृथ्वी नारायण शाहलाई एउटा राजा नभई राजनेता अनि परिकल्पनाकारका रुपमा प्रस्तुत गर्न चाहन्छौं । जसरी बुद्धको भूमि नेपाल हो, जसरी सीता हाम्री चेली हुन्, भृकुटी हाम्री चेली हुन त्यस्तै पृथ्वी नारायण शाह पनि यस देशका सशक्त परिकल्पनाकार, दिव्योपदेशका रचयता अनि एउटा कुशल राजनेता हुन् । पुस्ता आँउछ जान्छ तर देश रहिरहन्छ, आज हामीले पृथ्वीको योगदान भुल्यौं भनें भोली हाम्रो मौलिकता अनि इतिहासमाथि नै प्रश्न उठ्नेछ ।

मुलुक भन्ने शब्द बडो अपनत्वपूर्ण छ अनि यसको भाव पनि उत्तिकै अद्भूत छ । हामी नेपालीको मनमा मुलुक भन्ना साथ एउटा चित्र आँउछ, हाम्रो चन्द्र सूर्य, त्रिकोणात्मक झण्डा अनि समग्र नेपालीपनाको । ढाका टोपी, डाँडाकाँडा, गाँउबस्ती, हिमालहरु अनि हरियालीको त्यो मीठो बिम्ब जहाँ हिमालको छाँया छ । त्रिकोणात्मक झण्डा अनि मादलुको ताल र हिमालको छाँयामुनी रहेको नेपालीपनाको यो मानसचित्र भित्र एउटा महान ब्यक्तिको महान अनि दुरगामी संघर्ष र दुरदर्शिता लुकेको छ । नेपालमात्र नभई भारतीय उपमहाद्धीपका बिभिन्न देश अनि बिश्वमै नाम लिइने महान नेपाल एकीकरण पृथ्वी नारायण शाहको चर्चा गर्न चाह्यौ जसलाई आज आफ्नै देशले उपहास गर्न थालेको छ ।

सरकारमा गएपछि भोटेजात्रामा भोटो देखाउन र कुमारी पुजामा आतिथ्य लिएर जान उत्सुक हाम्रा प्रतिनिधीहरु तिनै माटो, भित्ता अनि इतिहासका रचयता पृथ्वी नारायणलाई भनें संझना गर्न चाहन्नन किन हो ? पृथ्वी नारायण शाहको परिचय राजाका रुपमा मात्र हुँदैन्, यिनी भविष्यवेता अनि एउटा महान दुरदर्शी नेता हुन् । नेपालको शाषनको बागडोर समाएका हातहरुले आज पनि परराष्ट्र अनि आन्तरिक शाषन मुद्धामा दुबिधा भए पृथ्वी नारायण शाहको दिव्योपदेश पल्टाएर बस्दा हुन्छ । आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो ।

विश्व इतिहास नै पल्टाएर हेर्दा १८ औं र १९औं शताब्दीको समयमा बिशालयकाय बिभिन्न देशहरु एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत विश्वभरि नै भएका थिए । विश्वमा यो शताब्दीमा छरिएका भूभाग अनि पहिचानलाई एउटै छानामा ल्याउन गरिएका कसरतहरु भएको पाइन्छ । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मी लेख्नुहुन्छ कि पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिँदैन भनेर । विश्वमा भोकमरी र त्रासदिबिच मकैका खोया उसिनेर खाने समय पनि हुँदो हो तर उतिवेला सार्वभौम नेपालमा ठूलाठूला मन्दिर, सभ्यता अनि कलात्मकतामा लगानी भएको पाइन्छ । बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ । विश्वयूद्धले जर्जर पारेका अनि उपनिवेशवादले जेलिएका देशहरु जस्तै थाइल्याण्ड, म्यानमार, फिलीपीन्स लगायत कहाँवाट कहाँ पुगिसके तर हामी अझै पनि त्यही छौं ।

पछिल्ला दशकमा हामी नेपालीहरु गृहयुद्ध अनि त्यसपछि मिठा सपनाको पछि लागेका हौं । दुर्भाग्य बिदेशमा छोराछोरी पठाएर आएको पसिनाको नुनसरि पैसोमा बुढा बाआमा आज समृद्धिका सपना देख्दै छन् । त्यही सिंहदरबार अनि दरबारस्क्वायरको धाकमा आज पनि सामन्तवादको नाममा प्रजातन्त्रको चकलेटको गुलीयोमा नेपाल नमिठो गरेर भुलिएको त हैन । जुम्लामा अस्पताल ल्याउन नपाएर मरेकी एउटी सुत्केरिको वेथा नसुनिने देशमा अरबौंको भ्रष्टाचारका तर्कनाहरु लाउडस्पीकरले फुकिरहेको छ । देश आखिर कुन दिशा तर्फ जाँदै छ आज पृथ्वी जयन्ती वाटै सोच्न थालौं है ।

जे होस् आधुनिक  नेपालका यी रचयीताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन् । सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिकतै देश अनि देशबासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ । लोकतन्त्र भनेंको पुराना अनुहारलाई गाली र राजतन्त्रलाई आरोप गर्नु मात्र हो ? असली लोकतन्त्रलाई लोक समक्ष पु¥याउन सकिएको छ त? हामी कुनै तन्त्रको पक्षधर हैनौं तर यो नयाँ तन्त्रले हाम्रो घाउहरुमा मल्हम लगायो या नुनचुक लगाइदियो, सोचौं ।

देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडावाट हामी सबैलाई नियाल्दै छन् । केवल २० बर्षकै उमेरमा राज्य बिस्तार अनि एकीकरणको उदेश्यमा हामफालेका पृथ्वी नारायण शाह बिश्वका अन्य कुनै योद्धा या शाषक भन्दा कम थिएनन् । भारतमै पनि महाराना प्रताप या छत्रपती शिवाजीको पृष्ठभूमि यस्तै पाइन्छ तर राज्यले यि महान योद्धा र दुरगामी सोचका आधारलाई कदर गरे जस्तो नेपालमा भने पृथ्वी नारायण शाहलाई सम्झना सम्म गर्न कन्जुसी गरिन्छ । आफ्नो जिवनको उच्चतम राजनैतिक अवस्था इतिहासको उत्कट पलमा पुगेका पृथ्वी नारायण शाहको शाषनको १८औ शताव्दीमा सम्पूर्ण भारतबर्ष अनि हिन्दु सनातन अनुयायीहरु नै मुस्लिम शाषकवाट छुट्कारा पाउन कसरत गरिरहेका थिए । दिव्योपदेशमा नेपाल दुई ढुगां बिचको एक तरुल हो भनेका पृथ्वी नारायण शाहको दुरगामी सोचलाई नै श्रेय दिनपर्दछ कि नेपालमा न त मुस्लीक शाषकहरुले बितण्डा मचाउन पाए न त संगैका चीन या भारतका शाषकहरुले कदम राख्न पाए । अहिलेको भारत, पाकिस्तन, बगंलादेश अनि म्यानमारसम्म एकलटमै उपनीववेश बनाएका ब्रिटिशहरु पनि नेपाली स्वाभीमानलाई धावा बोल्न असमर्थ भए । पृथ्वी नारायण शाह पछिका शाषक, भारदारी कलह अनि सत्तामोहका घिनलाग्दा खेलहरु हनुमान ढोका अनि नारायणहिटीसम्म खेलिएका अनि अन्य बिभिन्न स्वरुपमा शाषकस्तरमै नेपाली शिर झुकाउने कार्य भएका भने हुन् । देशको स्वाभिमान किस्ता किस्तामा किहले राणा शाषक त किहले राजा शाषक अनि अहिले आएर बिदेशी भूमिमा लिलामी भइरहेका नै छन्, दिव्योपदेश यो परिपेक्ष्यमा अहिलेपनि उत्तिकै सान्दर्भिक छन् ।

देशलाई टुक्राउन एउटा नेता भएपनि काफी हुन्छ, तर देशका पीडाहरुलाई सम्बोधन गर्न धेरै हातहरु चाहिन्छ । ति हातहरु तपाईका हुन सक्दछन्, मेरा हुन सक्दछन् अनि हाम्रा हुन सक्दछन् । हामी नेपालीहरुले स्वाभिमानको नयाँ अध्याय पढ्न अनि बुझ्न जरुरी छ, नेपाललाई माया गर्ने अनि राष्ट्रियताको परिभाषा आजको दिनले मागेको छ । नुवाकोट बाट शुरु भएको बिजय यात्रा तिव्बतको सञ्चार र व्यापारको मुख्य नाका कुती पास अनि सैयौं बिभिन्न हिमाली राज्य सम्म पुग्यो । सिमा क्षेत्रलाई कडा पार्दे शान्ति अनि सजगताको मार्ग यि राजाले ब्रिटिश संग अपनाएका हुन् । बाईबल लिएर भारत छिरेका बेलायतीहरुको शुरुका दिनमा भारतीयसंग जग्गा अनि बेलायतीका हातमा बाईबल थियो तर पछि बेलायती साम्रज्यवादको सिलसिलामा भारतीयसंग बाईबल अनि बेलायतीसंग जग्गा र श्रोतहरु भएको कुरा पृथ्वी नारायण शाहले राम्ररी बुझेका थिए । शायद त्यही कारणले होला, यि राजाले बेलायतीसंग कहिल्यै व्यापार गरेनन । गोर्खाबाट उठेको नेपाली सेनाको अदम्य साहस आज बिश्वभरि छरिएको छ, गोर्खा शव्दमात्रको मोह हेर्नुस न रु गोर्खाल्याण्ड नाम मात्रका लागि गएका बर्षहरुमा हजारौं नेपाली मुलका भारतीयहरु संघर्षरत छन् । केवल ५२ बर्षको उमेरमा दिवंगत भएका यि राजाले चाणक्यले झै आफ्ना नितीहरु दिव्योपदेशमा लिपीबद्ध गराएर गएका छन् । आजका पुस्ताले हाम्रो इतिहास अनि पहिचानका तथ्यहरु जान्न जरुरी छ, बिदेशी भाषा अनि इतिहास मुगाख्रे पारेर ज्ञानको ओढ्ने ओढेकाहरु सदैव अपूरा हुन्छन जबसम्म आफ्नै इतिहास र तथ्यहरु जानिदैन। गर्व गरौं, हाम्रो देशमा पृथ्वी नारायण शाह जन्मेका थिए ।

-सुयोग ढकाल


Loading comments...