चलचित्र “क्याप्टेन”को समीक्षा


उत्कृष्ट पक्ष
अनमोल केसीको निखारिएको अभिनयको साथै सम्पूर्ण कलाकारको प्रस्तुति, चलचित्रको पहिलो हाफ, सङ्गीत अनि थोरै भएपनि चलचित्रले बोकेको देशप्रेमको भावना।

कमजोर पक्ष
स्पोर्ट्स ड्रामा चलचित्रमा स्पोर्ट्सको पाटो कमजोर छ, दोश्रो हाफ थोरै बहकिएको महसुस हुन्छ।

समीक्षा
युवा स्टार अनमोल के सीले “कृ” मा एक्सन गरेपछि फेरी एउटा स्पोर्ट्स ड्रामा लिएर दर्शक माझ आएका छन्। चलाचित्र “ऐश्वर्य” फेम निर्देशक दिवाकर भट्टराईको “क्याप्टेन”ले अनमोललाई फेरी एउटा फरक जनरामा प्रस्तुत गरेको छ। लभर बोयको रुपमा स्थापित अनमोलको यो नयाँ रुप दर्शकले स्विकार्छन त रु यो प्रशनले चलचित्र “क्याप्टेन ” प्रदर्शन हुनुअघि निकै अन्योल बढाएको थियो।

तर, यो चलचित्रमा उनको निखरिएको प्रस्तुति हेरेपछि उनले आफुलाई नेपाली चलचित्र क्षेत्रकै “क्याप्टेन” भन्न सकिने साबित गरे। क्याप्टेन कथा हो, आफ्नो बुवाको सपना पुरा गर्न फुटबल खेल्ने इशानको, जो केहि परिस्थिति आएपछि आफ्नो आयआर्जनको लागि फुटबललाई त्याग्छन। तर, एकदिन कोच प्रशान्त ताम्राकारको नजरमा परेपछि उनको फुटबलको यात्रा कसरी क्लब देखि राष्ट्रिय टोलिसम्म पुग्छ, चलचित्र यहि सेरोफेरोमा घुमेको छ।

चलचित्रको पटकथा पहिलो हाफ सम्म निक्कै आकर्षक छ,सलोन र विल्सनका केहि दृश्य बाहेक कमेडीको लागि राखिएको अन्य दृश्य भने फितलो छ। तर, पहिलो हाफ सम्म चलचित्र निक्कै बाधिएको छ। समस्या दोश्रो हाफमा शुरु हुन्छ जब प्रियंका र अनमोलको लभ एङ्गललाई पटकथामा नचाहिएको स्थान दिन खोजिन्छ। दोश्रो हाफमा यहि भएर पनि चलचित्र २० मिनेट बढी तन्काउन खोजिएको महसुस हुन्छ।

अनमोल के. सीको पात्रले पारिवारिक समस्यामा आएपछि खेल त्याग्न खोज्ने परिस्थितिले नेपालको खेल जगतमा थुप्रै लुकेका प्रतिभाहरुको समस्यालाई ब्यक्त गरेको छ भने अनमोल के सी राष्ट्रिय फुटबल टोलीको क्याप्टेन बनेको सिक्वेन्सले निक्कै कनभिन्स गर्छ। अनमोल ले फुटबल खेल्छ भनेर थाहा पाएपछि उसको र उसको आमासँगको सिन निक्कै मिठो छ।

कलाकारमा सबैले अब्बल प्रस्तुति दिएका छन्। सलोन बस्नेतको उपस्थिति थोरै भएपनि दर्शकहरुलाई हसाएर जान्छन। उपासना र प्रियंकाले उल्लेखनीय काम गरेका छन् तर प्रियंकाको पाटोले चलचित्रलाई बहकाएको महसुस गर्न सकिन्छ। “रहर छ संगै” बोलको गीत थिएटरमा सुन्दा बढी मजा आउछ, “कर्लि कारली कपाल”ले दर्शकलाई कुर्सि छोडीहाल्न दिदैन।

निर्देशक दिवाकर भट्टराईले “क्याप्टेन”लाई इमोसन र ड्रामाको भरपुर मिश्रण दिन सफल छन्, तर उनको यो चलचित्र केहि ठाउँमा प्राविधिक रुपले अब्बल हुन सक्थियो। क्लाइमेक्सको अडियो जरुरि भन्दा धेरै लाउड भएको भान हुन्छ। निर्देशक भट्टराईले अनमोलबाट राम्रो काम त निकालेका छन् तर उनलाई दर्शकसामु एउटा सबल फुटबलरको रुपमा चिनाउन भने सफल छैनन्।

समग्रमा निखाएरिएको अनमोल के सी र एउटा राम्रो ड्रामा हेर्न तपाइँहरुले एकपटक भने क्याप्टेन अवश्य हेर्नुहोला।

रेटिंग : ३/५


Loading comments...