नारी शरीर, यसको बिज अनि फलको अधिकार


साइन्स फिक्सन र देश विकासबाहेकको कुरा गरौं । आज अन्तराष्ट्रिय महिला दिवसमा नारी मैत्री नभएका केही सामाजिक संरचनाको कुरा गरौं । हामीभित्र लुकेर रहेको एउटा यथार्थको, जसप्रति हामी आँखा चिम्लेर थाहा भएतापनि अन्ठाएर अर्थात थाहा नभएजस्तो गरेर बसेका छौं । आज उक्काउन चाहन्छौं, नारी जीवनको परिवेश अनि केही मोहर लगाइएका कथित कानुनी तर पाशवीक तथ्य को ।

दुईवटा छोरी भए पाएपछि पनि धेरै समय कुरेर अर्को छोरा पाउनलाई कसरत गर्ने दम्पतीसंग यसको जवाफ हुन्छरु कतिवटा छोरीहरु लुकी लुकी फोहोरदानमा गए भन्ने । के छोरी हुनु आँफैमा पूर्णता हैन् र ?

कतिजना दम्पतीले दुईवटा छोरा पाएपछि पनि छोरी कै लागि प्रतिक्षा गरेर छोरी पाएका छन् र ?
नारी दिवसमा बुझ्न पर्ने त बुझ्न नसकिएको कुरा यही हो । छोरी नासो हैन्, जसलाई कहाँ जाने या नजाने अनि कोसंग जाने रेखा कोरिदिनुपर्दछ । छोरी पूर्णता भएको एउटा मानव अस्तित्व हो, जो बिना सिर्जना अधुरो छ ।

बलात्कार भन्नासाथ हामी घरबाहिर, अध्यारो अनि असहज परिस्थिती संझन्छौं जुन सधै सही हैन् । घरका चार भिक्ता भित्र, समाजको मौनतामा धेरै बलात्कार हुनेगर्दछन् र यस्ता कथाका त्यान्द्राहरु नारी जीवनको शुरुवात देखि हाम्रो समाजमा हुने गर्दछ ।

जरुरी छैन तिम्रो शरीर महिलाकै हुनपर्छ, एउटा नागरिकको हिसाबले तिमी पुरुष वा तेश्रोलिंगी नै भएपनि तिम्रो शरीर राज्यले शासन गरेको हुन्छ । र अझ तिमी महिला हौ भने, तिम्रो शरीरमा पूरापूर स्वामित्व तिम्रो बुवाको हुन्छ, त्यसपछि दाइको, तिमीभन्दा सानो तिम्रो भाइको, अनि तिम्रो काकाहरुको पनि । वहाँहरुले एउटी फगत नासोका रुपमा छोरीलाई हुर्काउनुहुन्छ, रेखाहरु कोर्दै । छोरीलाई भौतिक बिभेद बन्द हुँदै गएको छ तर मानसिकता को बिभेद अझै त्यहीँ छ । अब खाने, लाउने अनि पढ्ने कुरामा छोरीलाई छोरा भन्दा पर खासै देखिँदैन तथापी छोरी ति रेखाहरुमा बसेकी हुन्छे जहाँ उसको आफ्नो जीवन पनि आफ्नै नभएको हुन्छ ।
उहाँहरुले निर्णय गर्नुहुन्छ तिम्रो शरीरमा, कसको हातमा सुम्पने सोच राखेर विवाह रुपी एउटा कर्म गरिदिनुहुन्छ । ति नयाँ गार्डियनको स्वामित्व रहन्छ तिम्रो शरीरमा, यसको बिजमा र फलमा पनि ।

शरीर कतिमा सुम्पिने भनेर पनि छलफल हुन्छ यसमा । ती नयाँ गार्डियनले तिम्रो शरीरको पालनपोषण, रेखदेख र सुरक्षा गरेबापत पैसा लिन्छन् । तिम्रो सुरक्षाको जिम्मेवारी ती पुराना मालिकहरुको काँधबाट हट्ने भएकाले पनि यो आर्थिक कारोबारबाट उनीहरु पछि हट्दैनन् । तिमी जतिसुकै पिडामा छटपटिए पनि तिम्रो जिम्मेवारी नयाँ मालिकको हुने र पुरानो मालिकले कुनै चिन्ता लिन नपर्ने हुनाले गतिलै हिसाब हुन्छ ।

बलात्कारका यी कथाहरुमा बलात्कारीहरु सामाजिक ओहोदाका ठेकदारहरु हुन्छन् । र त ती बलात्कारीहरु यसै समाजमा सम्मानजनक बाँच्दछन् अनि समाजका रक्षकका रुपमा पनि कहलिएका हुन्छन् । अनि बलात्कारका पिडीतहरुलाई यो कथामा पिडीतका रुपमा लिइँदैन । उनीहरु सुष्म सामाजिक तत्वहरु मात्र हुन् ।

बलात्कारका यी कथाहरुमा बलात्कारीहरु आनन्दको जिवन व्यतित गर्न थाल्दछन्, अनि यो सुखसुविधाको भोगको लागि चाहिने कति पैसा चाहिँ उनै पीडित वा उनको परिवार वा उनको आफन्त वा समुदायबाट आएको हुन्छ ।

यो कथामा, माया र प्रेमको बडो आकर्षक तरिकाले गुणगान गाइएको हुन्छ । यो बलात्कार नै कहलिँदैन किनकी यसमा तिमी नारी हुनुको महिमा गाइन्छ, तिम्रो इच्छा र आशक्तिभन्दामाथि तिमीलाई निस्वार्थ र त्यागी नारी हुनुको पगेरी लगाइन्छ र परिवारको माया र उनीहरुप्रतिको जिम्मेवारीले थुपरिन्छौ तिमी । आखिर त्यो पगेरीको साखका र मायाप्रेमको ओतप्रोतको भावनाले तिमी तिम्रो इच्छाको बली चढाउँछौ ।

तिमीले सहेका लाखौं चोटका बाबजुद तस्बिरका लागि मुस्कुराउने ती मुस्कानलाई व्याख्या गर्ने कुनै शब्द छैन । आफ्नो बलात्कारी छेउ उभिएर मुस्कुराउँदै क्यामेराबाट कैद हुने ती तस्बिर खिचेपछि नि त्यसलाई बलात्कार भनिरहन कहाँ मिल्छ र ?

यी बलात्कारका कथामा बलात्कारलाई ठहर पिडितले हैन अदालत अनि कानुनले गर्दछ । स्मरण रहोस्, अदालत अनि कानुन त पिडकले नै बढि चलाँउदछन्, हैन र रु कथामा अदालतले पीडितलाई ती बलात्कारीकै आडमा बढी सुरक्षित देख्छ र उसकै आडभरोसामा फिर्ता पठाइदिन्छ । आखिर बलात्कारका पीडीतहरु त बाउआमाको सहमतिमा नै पिडककोमा रितपूर्वक पठाइएका हुन्छन् ।

यो कथामा कर गर्नु वा बाध्य बनाउनु कथाको मुख्य अंश हो । कसैको इच्छाविपरित जर्बजस्ती उसको शरीरमाथि राज गर्नुलाई बहादुरी मानिन्छ र उत्तिकै नैतिक पनि । उसको संरक्षकलाई शारिरीक खुशी दिने उसको जिम्मेवारी हुन्छ ।

यो कथामा बलात्कारी समाजका मुख्य ओहोदामा रहेका हुन्छन् । उनीहरु व्यापारीदेखि लिएर द्वारपालसमेत हुन्छन्, साइकलदेखि देश हाँक्नेसम्म उनीहरु हुन्छन् । सिंगो राज्य हाँक्ने उनीहरुको शारीरिक भोकको जिम्मा नलिदिए व्यापारव्यवसाय कसले हेर्ने, घरको खर्च धानिदैन, राज्य सञ्चालन हुँदैन । यसको ठिक विपरित पीडितको हातमा केही हुँदैन । उनीहरु नयाँ मान्छे बनाउने मेसिन पनि भएकाले यो बलात्कारको घटना घटिरहन्छ ।

यो कथा यसैगरी सुनाइँदै आइन्छ अनि गरिँदै पनि । अनि रहिरहन्छ यो कथा कहिले नबिलाउने गरी सधैं जहिँतहिँ । यसरी नै लुकेर बसेको हुन्छ हामीभित्र यो कथा अनि हामी यो कथाभित्र ।

भारतीय मुलकी लेखिका अनी जहिदीको बिचार नेपाली परिवेशमा अनुवादीत


Loading comments...