के तपाईंलाई थाहा छ, विमानको रंग किन सेतो नै हुन्छ


विमानको रंग प्रायःजसो सेतो नै हुन्छ । तपाईंले यसमा ध्यान दिनुभएको थियो कि थिएन कुन्नि ? यसका पछाडि अनेकौं कारण हुन्छन् ।विमान सेतो हुनुमा वैज्ञानिक र आर्थिक कारण छन् । पहिला वैज्ञानिक कारणको चर्चा गरौं ।

प्लेन तात्नबाट बचाउन: विमानलाई धेरै तात्न नदिनका लागि सेतो रंग लगाइन्छ । रनवेदेखि लिएर आकाशसम्म विमान घाममै रहन्छ ।
त्यसमाथि सूर्यको किरण सीधै पर्छ अनि किरणमा भएका इन्फ्रारेडले भयंकर गर्मी उत्पन्न गर्छन् । सेतो रंगले किरण परावर्तन गर्ने भएकाले ९९ प्रतिशतसम्म किरणलाई परावर्तन गरिदिन्छ र प्लेन तात्न पाउँदैन ।

सेतो रंगमा सजिलै देखिन्छ डेन्ट: विमानमा कुनै किसिमको डेन्ट (ठोक्किएको निशान) वा क्य्राक (चिरा) लाई सेतो रंग हुँदा सजिलै देखिन्छ । अर्को रंगले यस्तो डेन्टलाई छोप्न सक्छ । सेतो रंग हुँदा विमानको निगरानी गर्न पनि सहज हुन्छ ।

दृश्यमान: अन्य रंगको तुलनामा सेतो रंगको भिजिबिलिटी (दृश्यमानता) धेरै हुन्छ । यसले गर्दा दुर्घटनाबाट बच्न सकिन्छ ।
तौल: अन्य रंगको तुलनामा सेतो रंगको तौल कम हुन्छ । त्यसैले सेतो रंगले पोत्दा विमानको भार बढ्दैन । अन्य रंगले भार बढाइदिन्छन् ।
आर्थिक कारण: विज्ञहरूका अनुसार, सेतो रंगको विमानको पुनः बिक्री मूल्य (रिसेल भ्याल्यु) बढी हुन्छ । अनि सधैं घाममै हुँदा अन्य रंग लगाउँदा छिट्टो बिग्रन्छ जबकि सेतो रंग लगाउँदा छिट्टो बिग्रँदैन । अनि विमानलाई छिटोछिटो पेन्ट गरिरहनु पनि परेन ।


Loading comments...