“एनआरएन घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो Mobile Blood Bus शुक्रबार हस्तान्तरण हुने


गैरआवासीय नेपाली संघले आगामी शुक्रबार (पौष ३ ) गते ‘एनआरएनए घुम्ती रगत बस’ हस्तान्तरण गर्दैछ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो ।
नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरि प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संयोजक जोशी बताउनुहुन्छ । यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मदत गर्ने विश्वास लिइएको छ ।
यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो ।यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा करिब ६१ लाख खर्च हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकाल देखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको र विरामीहरुलाई रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले पनि एनआरएनले सहकार्य अघि बढाएको हो ।
विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धि रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।
यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।
एनआरएनको घुम्ती रगत बस सामाजिक दुरी कायम हुने गरि निर्माण भएको छ ।


Loading comments...