जिन्दगी दिने रक्तश्राव, महिनावारी विशेष


उनीहरु भन्दछन् कि प्राचिन मन्दिरहरु सकारात्मक उर्जालाई सञ्चय गर्ने र प्रवाह गर्ने हिसाबमा बनाइएका हुन्छन् । तसर्थ महिनावारी भएका समयमा महिलाहरु मन्दिरमा गएमा त्यस उर्जाको प्रवाहले असर गर्ने उनीहरुको तर्क छ । म आज महिनावारीको रक्तश्रावको समयमा हुने छुवाछुतलाई यहाँ ब्याख्या गर्दै छु । किन धर्मले नै यहाँ अधर्म गर्दैछ त ?

हुन त म उर्जा विशेषज्ञ र मनोवैज्ञानीक पनि हैन तसर्थ म उर्जाका कुराहरुमा कुनै टिकाटिप्पणी गर्न चाहन्न, मन्दिरमा भएको सकारात्मक उर्जालाई म सम्मान गर्दछु तर महिनावारीको समयमा हुने भनिएको नकारात्मक उर्जा र छुवाछुत माथि मेरो प्रश्न छ । म एउटी अध्यापीका हुँ र महिनावारी र मानविय शरीरका कुराहरुले मलाई पेशागत रुपमै लल्कार्छ, म उत्सुक भएर अध्ययन गर्न थाल्दछु । मान्छेहरु आलिशान तर धेरै कठन र जटिल संरचनामा श्रृजना भएका प्राणीहरु हुन् । जब जब कोषहरुको एकाई अनि तिनवाट बन्ने तन्तुहरु, मार्शपेशी, अगं अनि प्राणीहरु को बारे थाहा हुन्छ तब त्यो जटिलता भित्रको सरलताले हामी सबैलाई तान्दछ, म यसै कारणले पनि हरेक प्राणी र तिनको अवस्थितीलाई ससम्मान हेर्दछु ।

जसरी मष्तिष्कले चेतनाको कार्य गर्दछ, मुटुले रगत प्रवाह गर्दछ, मृगौलाले रगत सफा गर्दछ त्यसैगरि महिलाहरुको शरीरमा यो मासिक रत्तश्रावले पनि फोहोरजन्य कुराहरु सफाई अनि अर्को अवधिको तयारी शुरु भएको उदघोष गर्दछ । गर्भावस्थाको तयारीमा पाठेघरको भित्तामा केहि अत्यन्त पोषक तत्वहरु मिलेर एउटा तयारी कार्य हुने गर्दछ, यस्ता कुराहरुमा सोडियम, पोटासियम, क्लोराइड र क्याल्सीयम लयागत केहि महत्वपूर्ण कोलेस्टेरोल र विशेष प्रोटिनहरु पनि हुन्छ जस्मा एउटा शिशुले स्वस्थ वातावरणमा जीवन सुनिश्चित गर्न पाँउदछ ।

संसारका सबै मान्छेहरु मासिक रत्तश्रावको यो महिमा अनि सार्मथ्यप्रति कृतज्ञ हुनुपर्नेमा किन यसरी छुवाछुतका रुपमा हेरिन्छ, म अनभिज्ञ छु । यदि मासिक रक्तश्रावलाई यसरी घिन अनि छुवाछुतका रुपमा हेरिने हो भनें हामी सबैजनाको भुँडिभित्रको आन्द्रामा भएका विकार पदार्थहरु जसलाई हामी २४ सै घण्टा बोकेर हिँड्दछौं, के त्यो बिकार हैन ? उसोभए अब कोही पनि महिला या पुरुष मन्दिरभित्र जान योग्य छैनन् , हैन त ?

एकजना वैज्ञानीकको एउटा पुस्तक का केहि अंशहरु साभार गर्न चाहें । वैज्ञानीक जुलीया इन्डर्सले आफ्नो बहुचर्चित पुस्तक इनसाइड द स्टोरी अफ बडीज मस्ट अन्डररेटेड अर्गेन नामक पुस्तकमा लेखेकी एउटा वाक्याशं यहाँ प्रस्तुत गर्न चाहें । हरेक दिन दुई या तिनपटक ठूलो आन्द्राले पचेका खानाका अंशरुलाई निष्काषन गर्न ठूलै धक्का र ठेल्ने कार्य गर्दछ । यसरी ठूलो आन्द्राको ठेलाई पछि हरेक बिहान हामी सबै महिला पुरुष या जुनै जनावर या प्राणी शौचालय जाँदछौं, हैन र ? उसोभए त यो पनि निकै फोहोरी कुरा भयो । हरेकको आन्द्राभित्र पचेका खाना र फोहोर कुरा छ जुन अवश्य पनि झनै फोहोर छ । सबैजना आन्द्रालाई मन्दिर अगाडि छाडेर दर्शन गर्न जान पनि त मिलेन ? तर ति शारीरीक कुराहरु एनाटोमिकल डिसिप्लीन हुन्, प्राकृतिक कुराहरुमाथि को यो विभेद रोकौं । महिनावारी पनि यस्तै प्राकृतिक कुरा हो, महिलाहरुमा रक्तश्राव हुन्छ र त जीवन र श्रृष्टि चलेको छ ।महिनावारी चिच्याएर कराएर ओभर इम्फासीस गर्नुपर्ने असामान्य कुरा पनि हैन र अन्डररेट गरेर थिचोमिचो र भेदभाव गर्ने कुरा पनि हैन् । सामान्य कुरालाई सामान्य रुपमा लिन किन नसकेका हौं हामीले, म अचम्ममा पर्दछु ।

भारतको आसामको प्रसिद्ध कामाख्या मन्दिरमा मा रजस्वाला भएकी देवीको दर्शन गरिन्छ । उता सबरीमल्ला मन्दिर जून अहिले निकै बिवादमा छ त्यही मन्दिरमा पनि सन् १९६० सम्म हरेक जात र वर्णका महिलाहरु बिनाकुनै रोकटोक छिर्न पाउने तथ्य भएको देखिन्छ । र सन् १९९१ मा औपचारीक रुपमा १० देखि ५० वर्षसम्मका महिलालाई त्यहाँ प्रवेश निषेध गरियो । भगवान अयाप्पामाथि विश्वास भएका महिलाहरुले भगवान अयप्पाको प्रतिमा दर्शन गर्न ५० वर्ष सम्म कुनै पर्दछ र त्यो किनभनें उनीहरु त्यस समयमा महिनावारी हुने गर्दछन् । महिनावारीमाथिको बिभेदलाई हामी प्राचिन समाजको नियमका रुपमा व्याख्या गरिने गरिएको भएतापनि त्यसो पटक्कै नभएको देखिन्छ, हामी आधुनिकताकै नाममा पछिल्ला दशकहरुमा धेरै सुग्घरी र पवित्र हुने चक्करमा निकै विभेदहरु जन्माँउदै गयौं । महिनावारीको रक्तश्रावमा जीवनको अस्तित्क लुकेको हुन्छ, जुन रगतमा जीवनको अशं हुन्छ त्यसमा यो भेदभाव किन ?
बायोलोजीमा जीवनको अंश लुकेको छ, यसरी जीवनको शुरुवात गराउने कुरालाई नै यो भेदभाव गरेर किन हामी जीवनलाई नै अवमुल्यन गरिरहेका छौं ?

बिजया दाहाल
असिस्टेन्ट प्रोफेसर

त्रिभूवन विश्वविधालय


Loading comments...