किन भावुक बने द भ्वाइसका विवेक?


मंसिर २, काठमाण्डौ । द भ्वाइसका विवेक लामा ब्लाइण्ड अडिशनबाटै निकै चर्चामा छन् । उनको गायन, प्रस्तुति अनि आफ्नो पृष्ठभूमिका कुराले गर्दा । ब्लाइण्ड अडिशनमा आँउदै विवेकले आफ्नो एक दशक लामो कारावास जीवनबारे खुुलेर कुरा गरे । द भ्वाइसको स्टेजमा विवेकले ब्लाइण्ड अडिशनमा कालजयी गीत “मलाई माफ गरिदेउ” प्रस्तुत गरेर कोचहरुको मन जित्दै गर्दा यता रेड रुममा रहेका उनका साथीहरु खुशीका अाँशुले रोइरहेका थिए ।

हेर्दै गर्दा लाग्थ्यो सङ्गीत र कलाको ताकत शायद् अरुमा होला! त्यही सङ्गीतले उता कोच अनि दर्शकको मन जितिरहेको थियो अनि त्यही सङ्गीतको हर्षमा विवेकका साथीहरु खुशीले बिभोर भएर आँशु थाम्न सकिरहेका थिएनन् ।

विवेकको म्यूजिकल कमब्याक एकदशक पछिको भएपनि उनी कारावास जानुअघिदेखि रेष्टुरेन्टहरुमा ब्याण्ड बनाएर गाउने गर्दथे ।

आज विवेक कोच अभयाद्वारा सेभ भएका छन्, उनको प्रस्तुति आज अद्वितिय थियो अनि त्यतिकै रोचक थियो उनको गीतको सर्मपण । गीत उनले सगौरव समर्पण गरिदिए सम्पूर्ण भूकम्प पीडितहरु अनि विशेष आफ्ना केही साथीहरुलाई जसलाई उनले भुकम्पमा गुमाए । विवेक कार्यक्रम पश्चात् निस्कनासाथ हामीले उनलाई गीत अनि समर्पणकाबारेमा सोध्न चाह्यौं । उनमा जीतको खुशी थियो अनि जब जब हामीले समर्पण गीत अनि उनले गुमाएका साथीहरुको कुरा गर्यौं, उनी भावुक भइदिन्थे ।

उनले क्रमशः खोल्दै गए आफ्ना बिगत जब उनी विद्यालयजीवनदेखि नै गायनमा जुझारु र सक्रिय थिए । आफ्नो स्कूलमा लगातार ६ बर्षसम्म गायन प्रतियोगितामा उनी प्रथम भएका कुरादेखि कलेज समयमा गरीएका कन्सर्टलाई उनी सम्झिने गर्दछन् । बिसं २०६० अनि २०६१ मा नै यिनले बिभिन्न कन्सर्ट अनि रेष्टुरेन्टहरुमा गायन थालिसकेका थिए तथापी कुनै एउटा गल्तीले उनी दशक लामो कारावास सजायका भागेदार भए । हामीले ति कुरालाई उक्काउन चाहेनौं किनभने कसैको पनि मूल्याकंन र प्रतिबिम्ब एउटा गल्तीले हैन कि त्यसपछि उसले गर्ने काम अनि साधनाका आधारमा हुन्छ ।

अब कुरा भयो आजको गीतको, “समर्पण तिमीलाई गर्दैछु म” बहुतै शानदार अनि भावुक प्रस्तुति थियो आज, हामीले यो गीत गाइनु पछाडिका कुराहरु उक्काउन चाह्यौं ।

विवेक कारावास जीवनमा रहँदा उनका धेरै मिल्ने साथीहरु थिए कारागारमा । यो बिसं २०७२ सालको भूकम्प आउनु अघिको कुरा हो जब विवेक लगायत अन्य सबै साथीहरु दैनिकजसो भेटघाट र पत्राचार गर्ने गर्दथे । कारागारको जीवन सहज हुँदैन र त्यहाँ कुनै पनि नाता या सम्बन्ध निभाउन यहाँ बाहिर समाजमा झैं सरल हुँदैन, विवेक थप्दै गए । हामी दैनिक पत्राचार गर्दथ्यौं, कुरा हुन्थ्यो अनि विशेष कार्यक्रम या उपलक्ष्यमा माहौल जमाउन गीत सङ्गीतमा पनि जम्ने गर्दथ्यौं । भूकम्प भन्दा केही मात्र अघि उनका साथीहरु लगायतका १८ बन्दिलाई भद्रगोल कारागार चलान गरियो । भूकम्पमा भद्रगोल कारागारका बन्दिगृहहरुका भित्ता भत्केर त्यसमा चेपिएर मृत्यू भएका १८ जना बन्दिहरुमा विवेकका ति ४ जना  मित्रहरु पनि थिए ।

विवेकले आजको गीत समर्पण मार्फत सम्पूर्ण भूकम्प पीडित र मृतकका परिवारलाई शान्ति अनि सदभावको सन्देश दिन चाहेको बताए । हामीले कति चाँडै भुकम्प लाई भुल्दैछौं अनि भुकम्पले मारेका मान्छेहरु अनि पीडितका पीडाहरु पनि, विवेक भावुक देखिन्थे । उनी आफु भने भुकम्प आँउदा कारागार मैं रहेको बताए । आफन्त गुमाउनुको पीडा कस्तो हुन्छ त्यो मलाई थाहा छ र त्यस पीडाका बावजुद सम्पूर्ण भूकम्प पीडितमा आफ्नो सङ्गीतले एउटा मल्हम लगाउने मेरो प्रयास हो, विवेक भन्छन् ।

जे होस हामी सराहना गर्दछौं बिवेकको गायकीको अनि उनको Fights Back को ताकतको । द भ्वाइसको स्टेजमा गुञ्जेको त्यस गीतले भूकम्प पीडितका पीडामा एैक्यवद्धता भने जनाएको छ ।

हेर्दै रहौं द भ्वाइस अफ नेपाल, द भ्वाइसका लागि सुयोग ढकाल ।


Loading comments...