मृत्युको भय


यो मृत्युको भय बडो गज्जबको कुरा हुन्छ जस्ले गर्दा पापीलाई पुण्य कार्य गराँउदछ त कहिलेकाँही पुण्य कार्य गर्नेलाई पापी बनाँउदछ । जीवन र मृत्यु मानव जीवनका २ परमसत्य हरु हुन जस्लाई हामीले सहर्ष स्वीकार गर्न सक्नुपर्दछ । आज यो सानो कथा मृत्युसंग भयंकर भय भएकाहरुका लागि ।

एकफेर भर्खरै बिवाह गरेका जोडी कोशी खोला तर्दै थिए । सानो ढुगांमा सौम्य खोलामा वडो चित्ताकर्षक प्रतिबिम्ब अनि दृश्यहरु हेर्दै खोला तर्दै जाँदा मध्य नदिमा एक्कासी मौसम परिवर्तन भयो । कालाकाला बादलहरु मडारिन थाले, पानी अनि एकतमासको छाल आउन थाल्यो ।
पत्नीले पतिलाई बडो भयका साथमा भन्दछिन् ।
हे श्रीमान अब हाम्रो अगाडी मृत्यु शिवाय केहि छैन, यस ढुगां पल्टियो भनें हामी यी पानीका छालमा बिलाउने छौं, अब हाम्रो मृत्यु निश्चित छ ।
तर पनि ति महिलाका श्रीमान बिना कुनै तनाव अनिभय बसिरहेका छन् । अझ उनले त ढुगांको समात्ने कडि पनि समाएका छैनन ।
महिला छक्क पर्दछिन् । तपाँई किन नडराउनु भएको ? किन तपाँई यो अगाडिको मृत्युको ताण्डवसंग भय राख्नुहुन्न ? बचपनदेखि पानी र खोलामा पौडेर हुर्केका यि माझीहरु समेत भयले त्राहीमामा गर्दैछन् तर तपाँई किन कुनै प्रतिक्रिया दिनुहुन्न ?
यतिकैमा श्रीमानले कम्मरमा बाँधेको खुकुरी निकालेर महिलाको घाँटीमा राख्दछन् र भन्दछन् ।
अब भन् के तिमीलाई यस चम्कीलो खुकुरी र यस्को धारसंग भय छ ? मैले चाहें भनें तिमीलाई अहिले मार्न सक्छु हैन र ?
महिला हाँस्दछिन र भन्दछिन् कि बुडा, मैले त तपाँईलाई मुटुका हरेक तह र तप्काबाट प्रेम गरेकी छु, यहाँले मलाई मार्नुभयो भनें पनि म कुनै बिस्मात मान्नेछैन । मेरो प्रेममा भय छैन, शोखले मलाई मार्नुभए हुन्छ किनकी म यहाँलाई अगाध प्रेम गर्दछु ।
श्रीमानले खुकुरी हटाँउदै भन्छन् कि हो बुढी मैले पनि ईश्वरलाई यस्तै प्रेम गरेको छु । यदि यो प्रकृति, प्रवृति अनि परिवेशले मेरो ज्याननै लिन्छ भनें पनि म कुनै बिस्मात गर्दिन किनभनें म ईश्वरलाई अगाध प्रेम गर्दछु । मैले मेरो जीवनको र मृत्युको निर्णय तिनै ईश्वरतत्व र प्रकृतिलाई दिएको छु अनि म किन मृत्युको भयसंग डराउनु ?
यति भनेंपछि श्रीमती पनि चुप लागिन अनि माझीहरुको आँखामा आशा पलायो ।


Loading comments...